हिस्टुनका शिक्षकहरूको आन्दोलन चर्कंदै

हिस्टुनका शिक्षकहरूको आन्दोलन चर्कंदै


महोत्तरीमा उच्च माध्यामिक विद्यालयमा कार्यरत शिक्षकहरूको आन्दोलन चर्कंदै गएको छ । महोत्तरीमा कार्यरत झण्डै ६० जना शिक्षकहरूले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलन चर्काएका हुन् ।

शिक्षा ऐनको अभावमा उच्च माध्यमिक विद्यालयको  दरबन्दीका लागि लामो समयदेखि काम गर्दै आएका शिक्षकहरूले स्थायी प्रक्रियामा प्रतिस्पर्धासमेत गर्न पाएका छैनन्। ऐन पास गरेर स्थायी दरबन्दी प्रक्रिया अगाडि बढाउनुपर्नेमा पनि आन्दोलनरत शिक्षकहरूले माग राखेका छन् ।

२० वर्षदेखि कार्यरत शिक्षकहरूको भविष्य सुनिश्चित नभएको र जागिरसमेत धरापमा रहेको भन्दै पेसागत जीवनयापनको सुनिश्चित गर्न पनि उनीहरूले सरकारकाे ध्यानाकर्षण गराएका छन् । २०५६ सालदेखि उच्च माध्यमिक तहमा अध्यापन गराउँदै आएका शिक्षकहरूका लागि शिक्षक आयोग नै नबनाई सरकारले बेवास्ता गरेको आन्दोलनरत शिक्षकहरूको आरोप छ ।

जागिरको सुनिश्चित गरी निजामतिसरह सेवासुविधा दिनुपर्ने, आन्तरिक प्रक्रियाबाट स्थायी गराउनुपर्ने जस्ता माग रहेको शिक्षक इन्द्र लामाले जानकारी दिए । अहिले जिल्लाभरि ६० जना शिक्षक छन् । जसमा सबैभन्दा बढी बर्दिबास नगरपालिकामा छन् । बर्दिबास नगरपालिकामा मात्र २२ जना रहेको माध्यामिक शिक्षक युनियन (हिस्टुन)ले जनाएको छ ।

Logo