वात्सल्य निमोठ्ने अभिभावक

कुनै आमाले आफैंले जन्म दिएको सन्तानलाई खोल्सामा फाल्न सक्छिन् ? आमाको ममताभन्दा उत्तम विषय संसारमा अरू केही हुन्छ र ! तर, हामी आमाले बच्चा मारेको, सन्तानले आफ्नै जन्मदिने आमाबाबालाई हत्या गरेको चरम अनैतिकताका खबर सुन्न विवस बनिरहेका छौँ । समाज अस्तव्यस्त छ ।

एउटा समय थियो, मान्छेमा अनुशासनको एउटा मर्यादाले यस्ता घटनालाई घटाउन होइन सोच्न नै भय हुन्थ्यो । नैतिक सन्देशका कथा सुन्थे । कमसेकम नेपाली समुदायले आपराधिक कार्यमा संलग्न हुनुभन्दा पहिला धेरै सोच्थ्यो । समाजको मर्यादाले रोक्थ्यो । हुन त सञ्चार सुविधा नहुँदा यस्ता घटना घटे पनि सुन्नु पर्दैनथ्यो तर पनि कारण यत्ति मात्र होइन । त्यो यौनिकता हो या ममता त्यसका बाध्यता या रहर– सबैभन्दा ठूलो पीडा अभिभावकत्व चुँडिएको यथार्थ रहेछ ।

आजको मानिसमा खराब सोचलाई मलजल गर्ने कारक वस्तुहरू धेरै छन् । नैतिक आदर्श सिकाउने पद्धतिमा पनि पैसा कमाउने लेपन लागेको छ । धर्ममा गाभिएर नैतिकतालाई पुरातन र पैसा मागीखाने साधन बनाउन थालियो । यसर्थ असल संस्कार नयाँ पुस्तामा सरेन ।
समाजमा नैतिक आदर्शको खडेरी लाग्न थाल्यो भने सुन्दर व्यवस्था, शिक्षित मान्छे, सम्पन्न मुलुक नै भए पनि त्यो स्थान नरक समान हुन्छ । आज हाम्रो समाजमा यसअघि सुन्नु नपरेका, कहिल्यै नसोचेका अनैतिक घटना घटिरहेका छन् ।

नैतिक शिक्षालाई प्राथमिकतामा राख्न सकिएन । मूल्य दिइएन । फलतः आजको अवस्था आइप¥यो । प्राविधिक शिक्षाका साथमा नैतिकताको पाठ सिकाउने हाम्रा प्राचीन शिक्षा पद्धतिलाई वैज्ञानिकीकरण गर्न नसक्नु आजको विडम्बना हो ।

हामीले विदेशतिर कस्तो अभ्यास छ भन्यौँ, घोत्लियौँ, खोज्यौँ तर आफ्नै पुर्खामा भएको सुन्दर ज्ञानलाई सर्लक्कै छोडिदियौँ । आफ्नोलाई अनेकौँ लाञ्छना लगायौँ । प्राचीनताको मखुन्डो भिराएर रैथाने ज्ञान र पुर्खाको जायजेथोबाट उब्जाएका वैज्ञानिक आदर्शतालाई खोक्रो आधुनिकताको खोल ओढेर लत्याउन सिक्यौँ । उल्टो संस्कारलाई मलजल गरेर खुब गोडमेल गरेर हुर्कायौँ ।

आफ्नोपनको तिरस्कार

आज यही अदूरदर्शिताको गगनचुम्बीमा पाइला राख्ने नादानी कुकृत्यमा लहसिएको हाम्रो आनीबानी र आफ्नो भाषा मास्ने, अर्काकोलाई खोजी खोजी इन्स्टिच्युटमा गएर घोक्ने, आइएलटीएस र टोफेल गरेर मात्र जागिर पाउने हुँदा नाक फुलाएर धुइरो लाग्ने संस्कारमा होडबाजी चलिरहेको छ !

हामीले हाम्रा कलेज, विद्यालय, विश्वविद्यालयमा भर्ना गर्दा, नयाँ विद्यार्थीलाई प्रवेश गराउँदा नेपालको माध्यम भाषा नेपाली पढ्न जान्यो कि जानेन भनेर जाँच्नु आवश्यकै छैन ? जसलाई एउटा निवेदन राम्रोसँग लेख्नै आउँदैन, नेपाली भाषा नै पढ्न आउँदैन, एक अनुच्छेद मिलाएर लेख्नै आउँदैन । तिनका हातमा डिग्री थमाएर हुन्छ ?

वास्तवमा हाम्रो मुलुक आफ्नोलाई लत्याएर खुसी मान्ने उल्टो पद्धतिमा हाँकिएर दगुरेको तीतोसत्य बोकेर लठ्ठिएको छ । उल्टो अङ्ग्रेजी पढाउने स्कुल ताकीताकी, दबाब दिईदिई छाप्रो नै भए पनि बोर्डिङ खोजेर पढाइरहेका छौँ । सरकारी विद्यालयहरू पनि त्यही सिकोमा अङ्ग्रेजी पढाएर विद्यार्थी तान्नुपर्ने विकल्पलाई राम्रो ठान्दै छन् तर आफ्नोपना र मौलिकतालाई डढाएकोमा चिन्तै छैन । न देशलाई चिन्ता छ न कुनै संस्थालाई । मात्र पैसाको कुरो छ ।

नीति, परम्परा, हरेक कार्य पद्धतिमा पलायनवादी देखासिकी भयो । आफ्नोपनका भाषाभेष, संस्कृतिका सारमा समाजलाई डो¥याउने र पर्यटन व्यवसायलाई नेपालीपनकै आधुनिकतामा ढाल्ने बारेमा सोचिएन । यो देशले भविष्य नसोचेको ठूलो घात हो । विडम्बना हो ।

पशुको सन्तति प्रेम र मान्छे

गाईभैँसीले आफ्नो कलिलो सन्तानलाई जिब्रोले चाट्छ, बाख्रीले पनि पाठापाठीलाई साकेङ्तिक भाषामा स्तनपानको जानकारी दिन्छ, कुखुराले चारो खोज्छ, आफ्नो पेट भोकै भए पनि चल्लाका लागि अर्पिन्छ । शत्रुरूपी बिरालो या कुकुरसँग सन्तान रक्षाका निम्ति आफ्नै ज्यानलाई दाउ थापेर झम्टिन ऊ तयार हुन्छ तर मान्छे कति क्रुर छ जसले दुई पैसाका लागि कुनै मर्यादा र नैतिकतालाई त्याग्न सक्छ । कमसेकम बाँदरले मान्छेको नक्कल गर्दैन तर मान्छे बाँदरभन्दा तल्लोस्तरको बन्यो । पशु प्राणीमा कति दर्बिलो छ– ममताको आदर्श !
नौ महिना आफ्नै कोखमा राखेर, प्रश्रव वेदनालाई जीवन मृत्युको दोसाँधमा बाँचेर सन्तानलाई जन्म दिन्छिन् । आमा नभए जोसँग गाँसिएको छ ममताको तार उसैको सहारामा जिउँछ– नाबालक । आमाबाबुको आशीर्वचन नै सन्ततिका प्रगति पथ बन्छन् । तर, आज आमा काखको सन्तान छोडेर पोइल जान कसरी तयार हुन्छिन् ? बाबा अर्की ल्याउन कसरी तयार हुन्छन् ? निर्दोष बालक आमाबाबाको नवप्रेमको मस्ती भइरहँदा एक्लो र बेसहारे टुहुरो बन्छ । जीवित अभिभावकको टुहुरो सन्तान ।

बाँदरले पेटमा सन्तानलाई राखेर रुखका हाँगा–हाँगा चहार्छ तर मान्छे पशुभन्दा निर्दयी बन्छ ।

जिउँदै बच्चालाई आमाले नै कसरी फाल्न सक्छिन् ! बाबाआमाद्वारा हेपिएको नाबालक सन्तानले भोगेको दुर्दशा र चाडबाडमा एक्लिएको, अर्काको सहारामा दुःखले बाँचेर हेपिएको बच्चाले कसरी भविष्यका सुनौला रेखा कोर्ने ?

सञ्चार प्रविधिको दुरुपयोग

सञ्चार माध्यमले परिवारमा विखण्डन मच्चाउन मलजल गराएको छ । फुर्सदको समयलाई सकारात्मक परिवर्तनमा खर्चिनुको साटो सञ्जालका अनैतिक व्यवहार मच्चाउने खराब नियतमा जेलिँदो छ समाज । बालबालिकालाई स्कुल पठाउने र फुर्सद भएपछि समय बिताउन कठिन हुनेहरूले मूलतः घरबारलाई लथालिङ्ग बनाएको पाइन्छ । घर परिवार बिथोलिँदा, निर्दोष बालबच्चाले अभिभावकत्वको अवसरलाई गुमाउनुपरेको छ । कानुनका शब्दसँग उसको वास्तविकता सधैँ अनजान छ । समाजका कलुषित अत्याचारिताको सीमा मिच्नेले बिगारेको घरको दसा कारुणिक हुन्छ । घरभरि शङ्काका घेरालाई जन्माइदिन्छ ।

अर्कातिर आकर्षित मन बोकेको मनोविज्ञानले बालक अचानो बनिदिन्छ । फलतः आमाबाबाको दैनिक घरायशी झमेलाका कारण बच्चाले पढ्न पाएको हुँदैन । त्यही बच्चाले विद्यालयमा समेत सजायको भागिदार बन्नुपर्छ तर त्यो बालमनको कुण्ठालाई कमैले बुझ्छन् । घरको न घाटको भएर पहिचान नभएको बालक अन्तमा बेसहारा बन्छ, यहाँ बालकको अधिकार र कानुनका कुरा केवल किताब र नारामै अड्किएका छन् ।

कुत्सित व्यवहारको मनोविज्ञान

एकातिर बाल दमनका कठोर र कुत्सित कार्यले हाम्रो संस्कृति र सामाजिक न्याय नै कलङ्कित भएको छ । ‘बाबाले घरमा अर्की आमा ल्याउँछन् । पहिलो परिवार काउछो बन्छ । बिस्तारै आमा पनि अर्कोसँग जान्छिन् अनि त्यो बालकले यही धर्तीमा जिउँदै आमाबाबाको मायाबाट वञ्चित बन्नुपर्छ । जीवित आमाबाबाको टुहुरो सन्तान । तिनैले शारीरिक, मानसिक हिंसा र दुव्र्यवहारको सिकार बन्नुपर्छ । अझ बाबाले ल्याएकी अर्की आमाको आडमा बाँचेको झर्के र बोझिलो सन्तानको दिनचर्या, त्यसमा पनि मनोवैज्ञानिक रूपमा उमेर बढेसँगैका वेदना कति दयनीय हुँदा हुन् । न उसका लागि आफ्नी आमा छिन् न बाबा । ऊ पहिचानविनाको विवश बालक जसलाई अन्यायको पीडामा न्याय माग्ने ज्ञान हुँदैन । अन्ततः उसको पहिचानमै सङ्कट उत्पन्न हुँदो रहेछ ।

छोराछोरीले कस्को सहारामा बाँच्ने ? भवितव्य परे त चित्त बुझाउने प्राकृतिक नियम रहेछ तर दुःखमा रूँदा आखिर आमा कस्लाई भन्ने ? या त सुखमा खुसी कोसँग बाँढ्ने ? बजारमा चक्लेट देख्दा कोसँग लाडे स्वरमा किनिमाग्ने या नपाए लडिबुडि झगडा कोसँग गर्ने ? बाटामा अरुका बाबाआमाले आफ्ना छोराछोरीलाई हातमा डो¥याएको देख्दा त्यो बच्चाको मन कस्तो होला ?’ सबै मानिस खराब अवश्य हुँदैनन् तर धेरै मात्रामा विदेशिएका श्रीमान् या श्रीमतीले लामो समयको यौनेच्छा अपूर्तिका कारण यस्ता ठूला गल्ति गर्नपुग्दा रहेछन् । या त अपर्याप्त यौनेच्छा वा अन्य कमजोरीका कारण यस्ता घटनाले समाजलाई दुर्गन्धित पार्दा रहेछन् । यसको अचानोमा त्यै निर्दोष बाल हृदय तड्पिँदो रहेछ ।

आफैंमा सचेत आमाबाबामा भने सन्तान प्रेम र आदर्श आचरण नै सफल जीवनको द्योतक बनिरहेकै हुन्छ । तर, पीडित बच्चाले अरुका परिवार हेरेर कति दुःख मान्दो हो, त्यसको लेखाजोखा गर्न सकिँदैन । यदि बाबा आमामध्ये कोही एकजनाले हेरेको बच्चा भएको अवस्थामा कर्तव्य या बाध्यता सम्झेर बच्चालाई होस्टलमा राखिएका हुन्छन् । आमासँग मात्र बसेको सन्तान भए बाबालाई भेट्न दिनुनहुने सर्त स्कुललाई गराइन्छ । बाबाले पालेको भएमा आमालाई भेट्न नदिने सर्त हुँदो रहेछ । तब त्यहाँ आमा या बाबा स्कुलमा आएर भेट्न चाहन्छन् तब प्रशासनलाई समेत अप्ठ्यारोमा पारिदिन्छन् । यस्तो परिस्थितिका बालबालिकामा आमाले मात्रै पालेको भए आमाकै माइतीको थर बन्दिँदो रहेछ । फलतः थर फेर्नुपर्ने झन्झट अर्कातिर ।

आमा अन्यायमा परिन् भने बाबासँग सम्बन्धविच्छेद गरी मावलीको थर राखिएको व्यक्तिले भोलि कोसँग अंश माग्ने ? भवितव्य या दुर्घटनाको पीडाभन्दा बच्चालाई जीवित आमाबाबाले खोसेका आड र काख हृदयविदारक बन्दो रहेछ । ममता टुटाइएको या पितृत्व खोसिएका अर्थात् दुवैले आ–आफ्नो स्वार्थमा लिप्त भएर कोही आफन्तका आडमा छोडेर घर बसाएका होऊन्, यसको सिकार त बच्चै बन्ने रहेछ । आमासँग बसे बाबाप्रति र बाबासँग भए आमाप्रति बच्चाको मस्तिष्कमा विरोधी भाव उत्पन्न गराउने कसरत समेत चलाइँदो रहेछ । समग्रमा आमाबाबाको कमजोरी र महŒवाकाङ्क्षाले निर्दोष सन्तानको भविष्य सङ्कटमा पर्दो रहेछ ।

परिणाम

आज कति दूधे बालकका ममता चुँडिइरहेका छन् । कति चरित्रहीनताका कारण जीवित बाबाको पितृत्व भाव खोसिएको छ । विविध बाल सुधार केन्द्र, बाल स्याहार केन्द्रजस्ता संस्थाहरूले गरेको मनकारी व्यवहारले सहारा पाइरहेका कुरा गौरवका विषय हुन् । तर, यस्तै बच्चालाई मौका पारेर बेचबिखन गरिएका दुःखद् घटना हुन् या गरिबीको चपेटाका कारण, अशिक्षा र जनचेतना अभावका कारण, प्राकृतिक विपत्तिजस्ता कारण आखिर बालअधिकारका आवाज व्यावहारिक पर्दाभन्दा पछाडि नै छन् । सन्तानका ममतामा बज्र हानिएका घटनाले समाज नै रूढिग्रस्त बनिरहेको छ । आमा बाबाको यौनपिपासु चरित्रले बच्चाले आफ्नो पहिचान नै गुमाउनु पर्दो रहेछ ।

मानिसमा नैतिक ज्ञान र आदर्श अनुशासनका कुराहरू दिनानुदिन ह्रास भइरहेका छन् । साँचो र सात्विक प्रेममा विचलन छ । जति आधुनिकताको त्यति मौलाउँदो विकृतिमा दमन र प्रेमको अभावबाट मनोरोगी बनिरहने बालकको वेदना भोलिको संवेदना हो । अब त्यो कलिलो क्रन्दनले अभिभावकत्व कसरी पाउला, यो आज विशेष गरेर शहरी क्षेत्रमा बढ्दै गएको जल्दोबल्दो समस्या रहेछ ।