छात्रालाई पढाइमा उत्प्रेरित गर्न साइकल वितरण

छात्रालाई पढाइमा उत्प्रेरित गर्न साइकल वितरण


माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ को अध्ययन थालेका महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल प्रदान गरिएको छ ।

छोरी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले मटिहानी–८ स्थित श्री राम माध्यमिक विद्यालयमा अध्ययनरत ती छात्रालाई साइकल प्रदान गरिएको हो । नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा कक्षा ११ मा नामाङ्कन गराएर अध्ययन गर्ने  छात्रालाई विसं २०७६ देखि नै साइकल प्रदान गर्दै आएको छ । नगरप्रमुख हरिप्रसाद मण्डलले साइकल प्रदान गर्दै साइकलले छात्राहरूमा आत्मविश्वास बढाउने र पढाइमा उत्प्रेरित बताए । 

मटिहानी नगरपालिका भए पनि अधिकांश ग्रामीण परिवेशका बस्ती छन् । त्यहाँका विद्यालयमा पढ्ने छात्रा अधिकांश दलित, जनजाति समुदायका गरिब परिवारका छन् । उनीहरूका लागि पठनपाठनमा साइकल निकै सहयोगी बनेको अभिभावकहरूको भनाइ छ ।छोरीहरूको पढाइ र विद्यालयप्रतिको लगाव बढाउन अन्य शैक्षिक सामग्री, पोशाक र अतिरिक्त कक्षाको समेत व्यवस्था गर्न सके उच्च शिक्षासम्म छात्राको सङ्ख्या बढाउन सहयोग पुग्ने मटिहानीका अभिभावकको धारणा पाइन्छ ।

Logo