महोत्तरीबाट सिफारिसमा पर्ने अधिकांश बहालवाला सांसद्, मतदाताको चाहना नयाँ अनुहार

महोत्तरीबाट सिफारिसमा पर्ने अधिकांश बहालवाला सांसद्, मतदाताको चाहना नयाँ अनुहार


आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीको सिफारिसमा पर्ने अधिकांश बहालवाला सांसद रहेका छन् । बर्षौदेखि एकै ठाउँमा जित्दै आएका नेतालाई पार्टीले पुनः सिफारिस गरेपछि उनीहरूले पाँच वर्षमा के के गरे भनेर लेखाजोखा हुन थालेको छ । 

देखावटी लोकप्रियताका लागि कतिपय सांसदले आफ्नो नाम जिल्लाका चार वटै क्षेत्रबाट सिफारिस गर्न समेत लगाएका छन् । मधेस प्रदेशका  संघीय मामिला सूचना सञ्चार तथा गृहमन्त्री भरतप्रसाद साह  जिल्लाका चारै क्षेत्रवाट सिफारिसमा परेका छन् । 

अघिल्लो निर्वाचनमा क्षेत्र १ (ख)बाट प्रदेशसभामा विजयी भएका साहले यस पटक संघ ताकेका छन् । साह मात्रै टिकटको दाउपेचमा लागेका छैनन् पूर्व उपप्रधानमन्त्री समेत भइसकेका सरद सिंह भण्डारीको नाम समेत महोत्तरीको तीन वटा क्षेत्रबाट सिफारिस भएको छ ।

२०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका सांसद बनेका भण्डारी पुनः सोही क्षेत्रबाट लड्ने पक्का भए पनि नाम भने अन्य क्षेत्रबाट पनि सिफारिसमा परेको छ । मधेस प्रदेशबाट सबैभन्दा बढी पटक मन्त्री बनेका भण्डारीले पटक पटक विभिन्न मन्त्रालय सम्हालि सकेका छन् । भण्डारी जस्तै पार्टीबाट सिफरिसमा परेका गिरिराजमणि पोखरेल, महन्थ ठाकुरले पटक पटक मन्त्री बनेर सत्ताको स्वाद चाखिसकेका छन् । 

नेताहरू चुनावमुखी भएको आरोप 
अधिकांश नेता चुनावमुखी मात्रै भएको काम केही नगरेको आरोप लाग्दै आएको छ । यसकारण महोत्तरीका मतदाताले पुराना नेताहरूलाई फरक ढंगले मुल्यांकन गर्ने धेरैको अनुमान छ । ‘जनता नयाँ अनुहार हेर्न चाहान्छन् भन्ने स्थानीय तहको निर्वाचनले पुष्टि गरेको छ,’ स्थानीय देवध्वज बस्नेतले भने ।

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले महोत्तरीबाट ०६४ सालदेखि लगातार जित्दै आएका छन् । करिब दुई दशकमा पोखरेल स्वास्थ्यमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री बनिसके । तर, उनी जुन मन्त्री बने पनि जिल्लाको शैक्षिक, भौतिक र आर्थिक क्षेत्रमा खान परिवर्तन सर्वसाधारणले महसुस गर्न नसकेको आरोप छ । 

पोखरेलले मात्र यस्तो आरोप खेपिरहेका छैनन् । भण्डारीप्रतिको टिकाटिप्पणी र गुनासा पनि बाक्लै सुनिन्छ । भौतिक योजना तथा पुर्वाधार मन्त्री बनिसकेका भण्डारीले अन्य विकास त टाढाको बिषय पालिकाहरूको कार्यालयमा समेत पक्की सडक पु-याउन नसकेको आरोप छ । अहिले पनि महोत्तरी रौतहटपछि कम साक्षर जिल्लामा पर्छ । ‘टिकट जो सुकैले लिएर आउन तर यस पालि भोट पार्टीगतभन्दा व्यक्ति हेरिन्छ,’ बर्दिबास नगरपालिकाका राज स्याङ्तानले भने । 

महोत्तरीमा लोसपा, जसपा, कांग्रेस, माओवादी केन्द्र, एमालेमा जनप्रतिनिधिसँगै युवा नेताहरूको पनि नाम सिफारिस गरेको हुनाले टिकटमा पूराना जनप्रतिनिधिलाई भन्दा नयाँलाई अवसर दिनुपर्ने नेताहरूको तर्क छ । नेकपा एमालेका नेता चन्द्रबहादुर बिकले पुरानाले नयाँ अनुहारलाई अवसर दिनु पर्ने तर्क गर्दै पार्टीले यसतर्फ ध्यान दिन आग्रह गरे ।

Logo