हङकङमा शक्तिशाली प्रदर्शन : कालो पोशाक लगाएर हजारौं नागरिक सडकमा

हङकङ,

हजारौं प्रदर्शनकारीले सोमवार हङकङ विमानस्थल नियन्त्रणमा लिएका छन् । प्रदर्शनकारीले गर्दा यहाँबाट हुने उडान र अवतरण प्रभावित भएका छन् ।

उनीहरूले विमानस्थलमै स्वतन्त्र हङकङको माग गर्दै नारा लगाएका छन् । उनीहरूले विमानस्थलमा उत्रिएका यात्रीलाई स्वागत गरेका छन् । अधिकांश प्रदर्शनकारीले कालो पोशाक लगाएका छन् । शुक्रवारदेखि नै उनीहरूले विमानस्थल कब्जामा लिने प्रयास गरेका थिए । आइतवार एक प्रदर्शनकारीको अनुहारमा चोट लागेको थियो । यद्यपि उनको पहिचान हुन सकेको छैन ।

प्रहरीको कुटाइबाट प्रदर्शनकारी महिलाको दृष्टि गुमेको हल्ला फैलिएको छ । यसको पुष्टि भनेको हुन सकेको छैन । प्रदर्शनकारीले ती घाइतेको तस्वीर पोस्टरमा राखेका छन् । पोस्टरमा उनको अनुहार पूरै रगतले लतपतिएको देखाइएको छ। प्रदर्शनकारीले ब्यानरमा ‘आँखाको बदला आँखा’ लेखेका छन् । एक प्रदर्शनकारीले हातमा लिएको ब्यानरमा लेखिएको थियो, ‘हङकङले हाम्रो हत्या गर्दैछ । हङकङ अब सुरक्षित ठाउँ रहेन ।’

विमानस्थलका भित्ता, खम्बा, पिलर लगायतमा रातो रङले लेखिएका पोस्टर र सूचना टाँसिएका छन् । ती सबैमा ‘आँखाको बदला आँखा’ लेखिएको छ । केही प्रदर्शनकारीले भने, ‘हङकङका नागरिक डराउनु हुँदैन, अग्र मोर्चामा आउनुपर्छ । यसैबीच विमानस्थल अधिकारीले भने, ‘यहाँबाट अन्त जाने र आउने सबै उडान स्थगित गरिएको छ ।’

चीनले आन्दोलन हिंसात्मक भएको बताउँदै यो आतंकवाद भएको बताएको छ । हङकङमा प्रहरी अधिकारीमाथि पेट्रोल बम प्रहार गरेपछि चीनको यस्तो भनाइ आएको हो । स्टेट काउन्सिलको हङकङ र मकाउ कार्यालयका प्रवक्ता याङ क्वाङले भने, ‘हङकङका कट्टरपन्थी प्रदर्शनकारीले प्रहरी अधिकारीमाथि आक्रमण गर्न खतरनाक हतियार प्रयोग गर्न थालेका छन् । यो गम्भीर हिंसक अपराध हो र आतंकवाद फैलाउन खोजेको पहिलो लक्षण हो ।’

प्रदर्शनकारीले हङकङको नियम, कानून र सामाजिक व्यवस्था ध्वस्त गर्न चाहेको याङले बताए । हङकङमा १० सातादेखि प्रदर्शन भइरहेको छ। हङकङ प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्दै आएको छ ।
एजेन्सी