‘हेलिकप्टर एम्बुलेन्स सेवा’ सुरु गर्ने तयारी

‘हेलिकप्टर एम्बुलेन्स सेवा’ सुरु गर्ने तयारी


विभिन्न कारणले स्थलमार्ग अवरोध हुँदा बिरामीले उपचार नपाएर ज्यान गुमाइरहेका बेला ‘हेलिकप्टर एम्बुलेन्स सेवा’ सुरु गर्ने तयारी गरिएको छ ।
पहुँचवाला र पैसा भएकाहरुले हेलिकप्टरको प्रयोग गरेर उपचार पाए पनि निम्न आयस्रोत भएका व्यक्तिले अस्पतालसम्मको पहुँच नहुँदा ज्यान गुमाइरहेका छन् । 

विकट क्षेत्रबाट अस्पतालसम्म जान बिरामीले नसक्ने तथा सुगम क्षेत्रबाटै पनि राजमार्गमा हुने घन्टौँ सवारी जामका कारण समयमै अस्पतालसम्म पु-याउन नसक्दा एम्बुलेन्समै बिरामीले मृत्युवरण गर्नुपर्ने अवस्था छ । तर, यस समस्यालाई अन्त्य गर्ने उद्देश्यका साथ धादिङ ज्वालामूखी गाउँपालिका–६ का विष्णुकुमार श्रेष्ठ (विष्णु पुरुष)ले हेलिकप्टर एम्बुलेन्स सेवा सुरु गर्ने तयारी गरेको जानकारी दिए । 

पाँच वर्षअघि नौबिसे सडकखण्डमा माइक्रोबस दुर्घटना हुँदा घाइते भएकालाई सवारी जामका कारण अस्पताल पुर्‍याउन नसक्दा मृत्यु भएको घटनाले आफूलाई हेलिकप्टर एम्बुलेन्स सेवा आवश्यक रहेको अनुभूति गराएको भन्दै उनले सोही बेलादेखि नै यसको आन्तरिक तयारी गरिरहेको जानकारी दिए । 

अब यसलाई अभियानकै रुपमा आफूले अगाडि बढाएको भन्दै विष्णु पुरुषले कानुनी प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । विभिन्न हेलिकप्टर कम्पनीसँग सहकार्य गरेर ‘हेलिकप्टर एम्बुलेन्स सेवा’ दिने बताएका उनले सबैले यो सेवा लिन नसक्ने भएकाले निम्न आयस्रोत, गरिब परिवारका सदस्यलाई निःशुल्क सेवा उपलब्ध गराउने गरी काम गरिरहेको बताए । 

संविधानले नागरिकको स्वास्थ्य हकलाई सुनिश्चित गरे पनि कार्यान्वयन शून्य रहेको बताउँदै उनले सबैको पहल र सहयोगमा नागरिकको ज्यान जोगाउनुपर्ने बताए । यसका लागि स्थलमार्गको मात्र नभएर हवाइ मार्गको एम्बुलेन्स सेवा आवश्यक रहेको उनले बताए । ‘मानव सेवा नै धर्म’ मूल मन्त्र बनाएर लागेका आध्यात्मिक चिन्तक विष्णु पुरुषले यस अभियानमा सहभागी हुन सबैलाई आग्रह पनि गरे । 

सबै नागरिकले दैनिक कप चिया खान छोडेर यस अभियानमा सहभागी हुने हो भने अस्पतालको पहुँचबाट कसैले मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुने उनको बुझाइ छ । ‘दैनिक एक कप चिया खान छाडेर, चियालाई तिर्ने पैसा यस अभियानमा लगाउने हो भने समयमा अस्पताल पुग्न नपाएर कुनै बिरामीले ज्यान गुमानुपर्दैन,’ उनले भने । 

कानुनी प्रक्रिया अन्तिम चरणमा पुगेको र सकिएपछि यस अभियानलाई घोषणा गर्ने बताएका उनले सक्ने व्यक्तिबाट लागत बराबरको रकम लिने र नसक्नेलाई निःशुल्क हेलिकप्टर एम्बुलेन्स सेवा दिने तयारी गरिएको जानकारी दिए । यस अभियानलाई एकल व्यक्तिले भन्दा सबैको हातेमालो गरेर सार्थकता दिनुपर्ने बताएका विष्णु पुरुषले आम्दानी र खर्च विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने बताए । 

Logo