घुस लिन पठाएको छोरो समातिएपछि वडा सदस्य र वडाध्यक्ष फरार

घुस लिन पठाएको छोरोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएपछि महोत्तरीको भंगाहा नगरपालिका-८ का वडा सदस्य कारी साह र वडाध्यक्ष मो रफिक आलम फरार भएका छन्।

अख्तियारले वडा सदस्य कारी साहका छोरा मुकेशलाई एक लाख ६० हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।  जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गर्दा मुकेश पक्राउ परेका हुन्।

सडक ढलानको बिल भुक्तानीका लागि समितिसँग वडाध्यक्ष र वडा सदस्यले घुस मागेका थिए । त्यही घुस रकम लिन वडा सदस्यले छोरालाई पठाएका थिए । मुकेशलाई अहिले बर्दिबासस्थित् अख्तियारको कार्यालयमा लगिएको छ ।