पवन चाम्लिङको पार्टी एसडीएफका १० सांसद भाजपा प्रवेश

साउन २८ । भारतीय राज्य सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टलाई गहिरो धक्का लागेको छ । सिक्किम विधान सभाको प्रतिपक्षी दल एकडीएफका १० सांसद पार्टी परित्याग गरेर भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् ।

आज दिउँसो भाजपाका कार्यवाहक अध्यक्ष जेपी नड्डा एवं वरिष्ठ नेता राम माधवले नयाँदिल्लीस्थित मुख्यालयमा ती सांसदहरूलाई पार्टी प्रवेश गराएका हुन् ।

विधान सभामा चाम्लिङको पार्टीका १५ सांसद थिए । बाँकी ४ जनाले पनि भाजपा प्रवेश गर्ने वा नयाँ पार्टी खोल्ने सम्भावना बताइएको छ । अब पार्टी अध्यक्ष चाम्लिङ उक्त पार्टीको एक्ला सांसद हुने सम्भावना बढेर गएको छ ।

दुई महिनाअघि सत्ताबाट बाहिरिएका चाम्लिङका लागि आजको घटना ठूलो धक्का हो । उनी सन् १९९४ देखि गत जेठसम्म सिक्किमका मुख्यमन्त्री थिए ।

गत जेठमा सम्पन्न विधान सभा चुनावमा पवन चाम्लिङको सत्ता कुनै समय उनकै सहयोगी एवं मन्त्रिपरिषदमा रहेर काम गरेका प्रेमसिंह तामाङ गोलेले उल्टाइदिएका थिए ।

गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चासँग ३२ सिटमध्ये १७ सिट छ र अहिले सिक्किमका उसैको सत्ता छ । एजेन्सी