बंगलादेशसँग भुटानको लज्जास्पद हार, बंगलादेश उपाधि नजिक

बंगलादेशसँग भुटानको लज्जास्पद हार, बंगलादेश उपाधि नजिक


बंगलादेश छैटौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै बंगलादेश महिला साफ च्याम्पियनसीपको उपाधि नजिक पुगेको हो । 

बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले एक एक गोल गरिन् ।

एकतर्फी खेलमा बंगलादेशले दोस्रो मिनेटमा सोप्नाको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । बंगलादेशले खेलको १८ औं मिनेटमा सविना, ३० औं मिनेटमा सरकार, ३५ औं मिनेटमा चक्माले गोल गर्दै पहिलो हाफमा ४–० को अग्रता बनाएको थियो । 

यस्तै दोस्रो हाफमा बंगलादेशले थप ४ गोल गरेको हो । खेलको ५४ औं मिनेटमा सविना, ५७ औं मिनेटमा प्रभिन, ८७ औं मिनेटमा खातुन र खेलको इन्जुरी समयमा सविनाले ह्याट्रिक पूरा गर्दै बंगलादेशलाई ८–० को जित दिलाएकी हुन् । 

अब बंगलादेशले उपाधिका लागि नेपाल र भारतबीचको विजेतासँग खेल्नेछ ।नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल साँझ ५ : ३० बजे सुरु हुनेछ । फाइनल खेल आगामी सोमबार हुनेछ ।

Logo