पर्यटनमन्त्री भट्टराईले गरे यस्तो घोषणा (भिडियोमा)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्र्तराष्ट्रिय विमानस्थलको निर्माण गर्न अन्तराष्ट्रिय लगानी नजुटे सरकारले आफै लगानी गर्ने बताएका छन् ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिको मंगलबारको बैठकमा बोल्दै मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकारले निर्माणकार्य अगाडि बढाउने बताए ।

उनले लगानीको विषयमा लगानी बोर्डका पदाधिकारीसँगको छलफलपछि थप निर्णय लिने बताए । वैदेशिक लगानी नआए के गर्ने भन्ने चिन्तामा सरकार नरहेको भन्दै मन्त्री भट्टराईले सरकार ब्याकअपमा बसेर काम गरिरहेको बताए ।

आगामी मंसिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गरेका मन्त्री भट्टराईले पूर्व तयारीका काम सम्पन्न गरेर शिलान्यास गरिने सरकारको योजना रहेको बताए ।

समितिमा बोल्दै मन्त्री भट्टराईले सरकारले बनाउनु पर्ने अवस्था आए नेपाली प्राविधिकहरुले बनाउने जानकारी दिए । नेपाली प्राविधिकहरु पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले कर्मचारीहरुलाई विश्वास गर्नुपर्ने बताए ।

मन्त्री भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि त्यस क्षेत्रको बस्तीलाई व्यवस्थित गरिने पनि बताए । बिस्थापित हुने सबै नेपाली दाजु—भाइ नै भएकोले अन्याय नहुने गरि ब्यबस्थापन गर्ने सरकारको प्रतिबद्धता रहेको बताए ।