गठबन्धनले देशलाई ओरालोतिर लग्योः अध्यक्ष ओली

गठबन्धनले देशलाई ओरालोतिर लग्योः अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाएका छन् । 

शनिवार काठमाडौंको वसन्तपुरमा संविधान दिवसको उपलक्ष्यमा आयोजित युवा सँगसँगै पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले देश अफ्ठ्यारो स्थितिबाट आरोलो लागिरहेको बताए । अध्यक्ष ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई रोकेर देशलाई अघि बढाउन राजनीतिक, लोकतान्त्रिक अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासन, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउने हिसावले सशक्त ढंगले अघि बढ्ने बताए । 

उनले यसको फैसला आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाले गर्ने बताए । अध्यक्ष ओलीले अहिले देशलाई, जनतालाई, लोकतन्त्र, संविधान, विकासको अभियानलाई हार्न दिनु नहुने भनाई राखे । उनले गठबन्धनका कारण धक्का खाएको देशको अवस्थालाई चिरेर द्रुत गतिले विकास गर्नुपर्ने बताए । उनले लोकतन्त्रको पक्षमा, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा, नेपाल नेपालीले नै चलाउने हो भन्ने अभियानका साथ अघि बढ्न आग्रहसमेत गरे । 

अध्यक्ष ओलीले  संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने पनि बताए । संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा वृहत वाकथन (पदयात्रा) शुरु गरेको हो । पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट शुरू भएको थियो । पदयात्रा कार्यक्रममा अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्य, महासचिव शंकर पोखरेल, उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो । 

Logo