३६ दिन बितिसक्दा पनि होशमा आएनन् राजु श्रीवास्तव

३६ दिन बितिसक्दा पनि होशमा आएनन् राजु श्रीवास्तव


बलिउडका हास्यकलाकार तथा अभिनेता राजु श्रीवास्तवको स्वास्थ्यमा बिस्तारै सुधार भइरहेको छ । तर अझै पनि उनी होशमा भने आएका छैनन् । समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा राजुका भाइले राजु अझै भेन्टिलेटरमा रहेको तर, उनको अवस्था स्थिर रहेको बताएका छन् ।

गत महिनाको १० तारिखमा हृदयघात भएपछि राजु श्रीवास्तवलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । राजुका भाइ दिपु श्रीवास्तवले राजु अस्पतालमा भर्ना भएको ३६ दिन भइसक्दा पनि अहिलेसम्म होश नआएको र उनको स्वास्थ्य लाभको लागि सबैको प्रार्थना आवश्यक रहेको बताएका छन् । 

राजु श्रीवास्तव सन् १९८० को दशकबाट मनोरञ्जन क्षेत्रमा प्रवेश गरेका थिए । उनले 'मैने प्यार किया','बाजीगर','बम्बे टू गोवा' र 'आमदानी अठनी खर्चा रुपैया' जस्ता धेरै हिन्दी चलचित्रहरूमा पनि सहायक भूमिका खेलेका थिए। यद्यपि, उनले २००५ को रियालिटी स्ट्यान्ड–अप कमेडी शो 'द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज' को पहिलो सिजनमा भाग लिएपछि पहिचान पाए।  उनी हाल फिल्म विकास परिषद, उत्तर प्रदेशका अध्यक्ष हुन्।

Logo