‘कांग्रेसलाई पहिलो पार्टी बनाउन हिँड्ने कम्युनिष्ट हुन सक्दैन’-अन्जान तिमिल्सिना [अन्तर्वार्ता]

‘कांग्रेसलाई पहिलो पार्टी बनाउन हिँड्ने कम्युनिष्ट हुन सक्दैन’-अन्जान तिमिल्सिना [अन्तर्वार्ता]


जनमुक्ति सेनामा हुँदा महत्वपूर्ण भूमिका निर्वाह गरेको माओवादी केन्द्रको बागमती प्रदेशका नेता अन्जान तिमिल्सिनाले पनि बिहीबार पार्टी परित्याग गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रकै प्रभावशाली नेता तिमिल्सिनाले पार्टी परित्याग गरेपछि यसले पनि चितवनको राजनीतिमा हलचल ल्याएको छ । उनी भरतपुर–१६ का बासिन्दा हुन् । पार्टी परित्यागको सन्दर्भमा तिमिल्सिनासँग भएकाे कुराकानी प्रस्तुत छ-

तपाईं जनयुद्धमा पनि लाग्नुभयो, सैन्य कमाण्डर पनि भएर हिँड्नु भो, अहिले माओवादी किन छाड्नुभयो ? 

-कुनै एउटै घटनाले हामी प्रभावित भएको हैन, यसको लामो श्रृखला छ । राजनीतिक हिसाबले हामीले निर्णय गरेको हो । वर्ग संर्घष क्रान्ति हुनुपर्छ भनेर जनयुद्धमा होमियौं । इमानदारितापूर्वक लाग्यौं । परिवर्तनका लागि जनयुद्ध गरेका थियौं । शान्ति प्रक्रियामा आयौं । तर, प्रचण्ड नेतृत्वले मूल एजेण्डा छाड्दै गयो । जनमुक्ति सेनाको समायोजन र व्यवस्थापनमा मूल नेतृत्व चुक्यो ।  हाम्रा एजेण्डा सेलाउँदै गए । पार्टी नेतृतव मूलतः भ्रम सिर्जना गर्ने काममा लाग्यो । राजनीतिक र वैचारिक रुपमा माओवादीसँग आज कुनै मुद्दा र एजेण्डा छैन । 

तपाईंहरूले पार्टी भित्र यी कुराहरू उठाउनु भएन ? 

-पार्टी भित्र संर्घष गर्‍यौं । स्थानीय तहको निर्वाचन अगाडि पनि हामीले भन्यौं । तर, भ्रम र आश्वासन दिएर भुलाउन खोजियो । हामी यहाँसम्म आउँदा पार्टीले अब क्रान्ति गर्दैन , गर्न सक्दैन भन्ने निष्कर्षमा पुगेको हो । एमसीसी पास नगर्ने भनेर महाधिवेशनमा उपस्थित ५ हजार जना प्रतिनिधिले पास गरेको कुरालाई किन लत्याइयो भन्नुस् त ? महाधिवेशभन्दा ठूलो प्रचण्डको आदेश हुन्छ र ? पछि उहाँले ब्याख्यात्मक टिप्पणीको बर्को लगाएर एमसीसी पास गर्नुभयो । उहाँले ब्याख्यात्मक टिप्पणी गरेर हुने कुरा हो र त्यो ? त्यसपछि पनि विभिन्न घटनाक्रम देख्दा जस्तो की नागरिकता विधेयक उस्तै तरिका देखिन्छ । 

नेकपा हुँदा उहाँले नै हैन विदेशबाट बिहे गरेर आउने बुहारीलाई नागरिकताका लागि ७ बर्षे प्रावधान राख्ने भन्ने उहाँ नै हैन । आज किन त्यहाँबाट च्यूत भएको ? अर्को कुरा के छ भने जसरी अहिले गठबन्धन बनेको छ यो मूलतः नेपाली जनता, नेपाल र अझै पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई असर गर्ने खालको देखिन्छ । नेपालका कम्युनिष्टहरूलाई सिध्याउन विदेशीहरूले यो गठबन्धन बनाएका हुन् । कम्युनिष्ट पार्टी सिध्याउन कम्युनिष्ट भन्ने पार्टी लाग्न मिल्छ ?  एमालेलाई कमजोर पारेर नेपालका कम्युनिष्टहरूको हित हुन्छ त ? एमाले कमजोर हुँदा माओवादी बलियो हुन्छ कि कांग्रेस ? कम्युनिष्ट हौं भन्ने तर, कांग्रेसलाई पहिलो पार्टी बनाएर राज्यसत्ता सुम्पिने काम कम्युनिष्ट विरोधी मात्रै हैन, जनविरोधी काम हो । यसले हाम्रो वर्गको हित गर्दैन । 

तपाईं त सैन्य कमाण्डर पनि हो, हिजोका लडाकुले पाएको दुःखले तपाईंलाई उद्वेलित बनाएको हो ?

-पक्कै पनि म प्रचण्डको सुरक्षा हेर्ने व्यक्ति पनि हुँ । प्रचण्डको भौतिक सुरक्षामा सैन्य फाँटबाट मैले योगदान गरेको छु । वाइसीएलहरूलाई तालिम दिने काम पनि गरेँ । म जनसैन्य प्रतिष्ठानको प्रमुख प्रशिक्षक पनि हो । उनीहरूको पीडा मैले नजिकबाट अनुभूति गरेको छु । प्रचण्ड दलाल नोकरशाहीको घेराबन्दीमा परेँ । नातावाद र कृपावादको हावी भयो । युद्धकालमा हामीलाई जोगाउन जनताको ठूलो योगदान र लगानी थियो । त्यो कुरालाई आज प्रचण्डले बुझेनन् । पारिवारिक सेटिङ र किचेन क्याबिनेट खडा गरियो । 

अन्ततः हामीजस्ता युद्ध लड्ने, ज्यान हत्केलामा लिएर हिँड्ने मान्छे नेता कार्यकर्ता पार्टीमा बसिरहन सकिएन । राजनीतिक वैचारिक हिसावले भन्नुहुन्छ भने माओावदी केन्द्रको विचार अस्पष्ट दिशाहिन छ । कस्तो समाजवाद ल्याउने हो ? कसले नेतृत्व गर्ने हो भन्ने दुविधा छ माओवादीजनमा । कांग्रेसका पछाडि लागेर, उसले दिएको हात थापेर खाएर समाजवाद ल्याउँछ भनेर हामीले पत्याउनु ? कार्यकर्तालाई भुलभूलैयामा राख्ने छल्ने ढाँट्ने कामले परिवर्तन हुन्छ र ?

एमालेमा त्यस्तो के देख्नुभो र प्रवेश गर्नुभो त ? 

-बरु एमालेसँग स्पष्ट दृष्टिकोण पाएँ । विकास र समृद्धिको एजेण्डा छन् । आज १५ महिना यो गठबन्धनले सरकार चलाउँदा खै कहाँ के भयो देशमा ? सामाजिक, राजनीतिक, विकासका दृष्टिकोणबाट त एमाले स्पष्ट नै देखिन्छ । कोभिडको महामारी भरखरै संविधान जारी भए पछिको अवस्थामा पनि एमालेले विकासको छनक दिएको देखिन्छ । भूकम्पले भत्किएका संरचना उठाउन एमाले नेतृत्वको सरकारले योगदान गरेको देखिन्छ । केपी ओलीसँग भिजन छ । तर, गठबन्धनसँग एमाले कसरी कमजोर पारेर सिध्याउने भन्ने मात्रै कुण्ठा छ । जुन गलत छ । देशमा दुई एमाले चाँहिदैन । एउटै एमाले नै काफी छ । 

तपाई पद नपाएर एमाले आएको भन्ने पनि छन् नि ? 

-म पद र पैंसाका पछि लाग्ने मान्छे हैन । राजनीति मेरो पेसा हैन सेवा हो । अब मलाई अनेक आरोप लगाउँछन् । गद्दार भन्लान्, आर्थिक प्रलोभनमा परेको भन्लान् । पद पाएर गएको भन्लान् अनेक भन्छन् । तर, मलाई त्यसको प्रवाह छैन । हिजो माओवादीमा हुँदा पनि मैले एक रुपैया चन्दा उठाएको खाएको छैन । बरु आफ्नै पुर्ख्याैली सम्पति बेचेर हिँडेको छु । सम्पति बेचेर पार्टीमा लागेको थिएँ । पद नपाएर गएको, पद खान गएको भन्ने कुरालाई म खारेज गर्न चाहन्छु । राजनीतिक हिसाबले स्पष्ट भएर एमाले भएको हुँ । कांग्रेसका पछि लाग्नभन्दा एमाले ठिक छ भन्ने मेराे निष्कर्ष हो । 

Logo