‘स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न सक्दैनन्’ -अध्यक्ष तिमिल्सिना

‘स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न सक्दैनन्’ -अध्यक्ष तिमिल्सिना


राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न नसक्ने बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित ‘अबको दृष्टि, स्वाभिमान सहितको समृद्धि’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जितेर संसदमा केही काम गर्न नसक्ने बताएका हुन् । उनले स्वतन्त्र उम्मेदवारले संसदमा बोलेर अलिकति चेतना जगाउन सकेपनि आमरुपमा कुनै परिवर्तन ल्याउन नसक्ने बताए । 

अध्यक्ष तिमिल्सिनाले आफु राष्ट्रिय सभा अध्यक्ष भएर पनि नियम, कानूनको सिमाका कारण आम रुपमा परिवर्तन ल्याउन नसकेको भन्दै स्वतन्त्र सांसदले झनै नसक्ने बताए । कार्यकारी अधिकार नभएको ठाउँमा गर्ने कामहरु कम हुने उनको भनाई छ ।  

‘बहुदलीय व्यवस्थामा स्वतन्त्र आउनैपर्छ । कतिपय आउनुहुन्छ स्वभाविक हो । तर पार्टी, सरकार बनेर चलाउने त स्वतन्त्रले त सम्भव नै छैन । अनि स्वतन्त्रले सम्भव छैन भनेर पार्टी बनायो । पार्टी बनाएपछि टुटफुट । एकदम गर्छौ भनेर यहाँहरुलाई थाहा छ नि कतिपय यस्ता सेलिब्रेटी युवाहरु कोही सञ्चार क्षेत्रमा, कोही अरु क्षेत्रमा लाग्नुभयो । आएर पार्टी खोल्नुभयो । एक ठाउँमा बस्नै नसकेर अहिले कता जानुहुन्छ ? कोही कता, कोही कता ? सजिलो त छैन नि फेरी इमान्दारीपूर्वक राजनीति गर्ने हो भने त्यो गाह्रै कुरा हो । पार्टी चलाउने पनि सामान्य कुरा होइन, गाह्रो छ ।’ उनले भने, ‘गएको स्थानीय चुनावमा केही स्वतन्त्र उम्मेदवारले जित्नुभएको छ । स्थानीयमा त बहुमत अल्पमत निर्णय प्रक्रियामा चाहिन्छ तर त्यो चल्छ । तर प्रदेश सरकार बन्न त्यहाँ त सरकार बनाएर चेन्ज ल्याउने । एउटा सांसदले अलिकति चेतना जघाउन सक्छ । तर उसले आम रुपमा चेन्ज ल्याउन सक्दैन । म राष्ट्रिय सभा अध्यक्षले सकेको छैन । सांसदले कहाँ सक्नुहुन्छ ? कार्यकारी अधिकार सहितको नभएको ठाउँहरुले गर्ने ठाउँ कम हुन्छ, काम गर्ने कुराहरु । एकजना सांसद स्वतन्त्र आउनुहुन्छ, बोल्नुहुन्छ । बोलेको बोलेकै गर्नुहुन्छ । तर अर्को पटकबाट निराश भएर सकिदो रहेनछ भनेर अरुलाई पनि निराश बनाउने हुन्छ । त्यसकारण आवद्ध हुनुस् पार्टीमा । पार्टीलाई नै परिवर्तन गराउने उनको सोचमा परिवर्तन गराउने । आ–आफ्नो जहाँ जहाँ पार्टीमा लाग्नुभएको छ, त्यो पार्टीलाई नै अब सहि मार्गमा हिंड्ने नेताहरु ।’ 

अघिल्लो पुस्ताका नेताहरुमा त्याग गर्ने क्षमता भएपनि निर्माण गर्ने कुरामा कमजोरी रहेको उनको भनाई छ । अब देशमा विद्रोहको आवश्यकता नरहेको भन्दै उनले बिद्रोह गर्नेलाई होइन सिर्जना गर्नेलाई भोट दिनुपर्ने बताए । 

Logo