अचम्मैअचम्मले भरिएकाे काव्य : महाभारत

‘जे यहाँ छ त्यो संसारमा कतै न कतै अवश्य फेला पर्छ, जे यहाँ छैन त्यो संसारमा अन्यत्र कहीँ कतै पाइँदैन ।’ यो उद्घोष हो महाभारतकाे ।

महाभारत संसारकै ठूलो महाकाव्य । भारतवर्षको इतिहास एवं दर्शन समेटिएको अद्भुत ग्रन्थ । यसमा करिब एक लाख श्लोक छन् जुन पश्चिमका चर्चित महाकाव्य इलियाड र ओडिसी दुवैको संयुक्त श्लोकभन्दा सात गुना बढी छ भनिन्छ । गीता महाभारतको एक छोटो अंश मात्र हो जुन भहाभारतको भीष्म पर्व अन्तर्गत पर्छ । महाभारतलाई पञ्चम वेद पनि भनिन्छ । यसमा चतुर्वेद तथा अन्य हिन्दू ग्रन्थका सार समेटिएका छन् । महाभारतका रचयिता महर्षि वेदव्यास हुन् भनिन्छ ।

ऐतिहासिक तथ्य

विद्वानहरूको भनाइमा महाभारतमा वणिर्त सूर्य तथा चन्द्रग्रहणको अध्ययनबाट यसको रचनाकाल इसापूर्व ३१ औं शताब्दी हो भन्ने थाहा हुन्छ । सामान्यत महाभारतको रचनाकाल इसापूर्व १४ औं शताब्दी मानिन्छ । आर्यभट्टका अनुसार महाभारतको युद्ध इसापूर्व ३१३७ मा भएको थियो भने कलियुगको प्रारम्भ कृष्णको निधन भएको ३५ वर्षपछि भएको थियो ।

एक अध्ययनअनुसार रामको जन्म इसापूर्व ५११४ मा भएको मानिन्छ । महाभारतका एक चर्चित योद्धा शल्य जो कौरव पक्षका अन्तिम सेनापति थिए, उनलाई रामायणमा वणिर्त लव र कुशपछिका ५० औं पुस्ता मानिन्छ । यसकैका आधारमा विद्वानहरू महाभारतको समय रामायणको भन्दा १००० वर्षपछि भएको मान्दछन् ।

पछिल्लो शोधअनुसार बेलायतमा कार्यरत न्युक्लियर मेडिसिनका फिजिसियन डा. मनीष पण्डितले महाभारतमा वणिर्त १ सय ५० खगोलीय घटनाहरूका सन्दर्भमा भनेका छन्-महाभारतको युद्ध २२ नोभेम्बर ३०६७ इसापूर्वमा भएको थियो । उक्त समयमा भगवान् कृष्ण ५६ वर्षका थिए । यसको केही महिनापछि नै महाभारतको रचना भएको मानिन्छ ।

महाभारत युद्ध

महाभारतमा चन्द्रवंशीको दुई परिवार कौरव एवं पाण्डवका बीच भएको युद्धको वर्णन छ । एक सय कौरव र पाँच पाण्डवका बीच जमिनको विषयलाई लिएर जुन संघर्ष भयो त्यही नै अन्ततः महाभारत युद्धको कारण बनेको देखिन्छ । उक्त लडाइँ वर्तमान हरियाणाको कुरुक्षेत्र आसपास भएको मानिन्छ । महाभारतको लडाइँमा पाण्डवहरू विजयी भएका थिए । यस युद्धलाई अधर्मका विरुद्ध लडिएको धर्म युद्ध अर्थात् सत्य र न्यायका लागि लडिएको युद्ध मानिन्छ ।

एक मान्यताअनुसार अन्य भारतवर्षीय साहित्यहरूजस्तै यो महाकाव्य पनि पहिले वाचिक परम्परामार्फत एक पिँढीबाट अर्को पिँढी हुँदै अहिलेको अवस्थामा आइपुगेको मानिन्छ । पछि छपाइ युगको सुरुवात भएसँगै महाभारतका थुप्रै भोगोलिक संस्करण देखा परे जसमा थुप्रै घटना थपघट भएका छन् जुन मूल कथामा देखिँदैनन् वा देखिए पनि ती अर्कै स्वरूपमा देखिन्छन् ।

महाभारतमा १८ परिच्छेद छन् जसलाई पर्व भनिन्छ:

१) आदि पर्वः परिचय, राजकुमारहरू जन्म एवं लालनपालन ।

२) सभा पर्वः दरबारको झलक, द्युतक्रीडा एवं पाण्डवहरूको वनवास, मय दानवद्वारा इन्द्रप्रस्थमा भवन निर्माण ।

३)अरण्य/वन पर्वः १२ वर्ष पाण्डवहरूको वनवास

४) विराट पर्वः एक वर्ष विराट राजाको दरबारमा पाण्डवहरूको अज्ञातवास ।

५) उद्योग पर्वः युद्धको तयारी ।

६) भीष्मपर्वः युद्ध सुरु । भीष्म कौरवहरूको सेनापति  भएर १० दिनसम्म युद्ध लडेका (श्रीमद्भागवद्गीता पनि यसै पर्वभित्र पर्छ) ।

७) द्रोण पर्वः युद्ध जारी, द्रोणाचार्य सेनापति भएर ५ दिन युद्ध लडेका ।

८) कर्ण पर्वः युद्ध जारी, कर्ण सेनापति भएर २ दिन युद्ध लडेका ।

९) शल्य पर्वः युद्ध अन्तिम अवस्थामा पुगेको, शल्य सेनापति भएर १ दिन युद्ध लडेका ।

१०) सौप्तिक पर्वः अश्वत्थामाले कृतवर्मा एवं कृपाचार्यको सहयोग लिई राती सुतेका अवस्थामा पाण्डवहरूका सेनापति धृष्टद्युम्न, द्रौपदीका पाँच पुत्र तथा अन्य योद्धाको हत्या ।

११) स्त्री पर्वः गान्धारी तथा अन्य महलिाहरूद्वारा मृतक योद्धाहरूका लागि शोक ।

१२) शान्ति पर्वः युधिष्ठिरको राज्याभिषेक एवं भीष्मको दिशानिर्देश ।

१३) अनुशासन पर्वः भीष्मको अन्तिम उपदेश ।

१४) अश्वमेध पर्वः युधिष्ठिरद्वारा अश्वमेध यज्ञको आयोजना ।

१५) आश्रमवासिक पर्वः धृतराष्ट्र, गान्धारी एवं कुन्ती आदि वान्यप्रस्थका लागि वनप्रस्थान ।

१६) मौसुल पर्वः यादवहरूबीच परस्परमा लडाइँ एवं सम्पूर्ण कुलको विनाश ।

१७) महाप्रस्थानिक पर्वः युधिष्ठिर एवं उनका भाइहरू एवं द्रौपदीको सद्गतिको पहिलो भाग ।

१८) स्वर्गारोहण पर्वः पाण्डवहरूको स्वर्ग यात्रा ।

यसबाहेक हरिवंश पर्व पनि पाइन्छ । १६ हजार ३ सय पचहत्तर श्लोकको उपसंहार पछि महाभारतमा जोडिएको थियो जुन हरिवंश पर्वका रूपमा प्रसिद्ध छ । यस अध्यायमा भगवान् श्रीकृष्णको वर्णन छ । सन्तानकाे चाहना हुनेले हरिव‌ंश पुराण लगाउने चलन छ ।

अरू केही चर्चित प्रसंग पनि छन् महाभारतमा

गीताः भीष्म पर्वअन्तर्गत पर्ने गीतामा श्रीकृष्णद्वारा अर्जुनलाई दिइएको उपदेश छ ।

कृष्णवार्ताः हरिवंश पर्वमा दिइएको श्रीकृष्णको कथा एवं जानकारी ।

रामायणः रामको विषयमा अरण्य पर्वमा एक संक्षिप्त वर्णन ।

विष्णुसहस्रनामः शानितपर्वमा वणिर्त विष्णुको एक हजार नामको महिमा ।

प्रेमकथाः वन पर्वमा नल दमयन्तीको प्रेमकथा । ऋष्यशृंग ऋषिको प्रेमकथा ।

 

अचम्मैअचम्मले भरिएकाे काव्य : महाभारत