निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्कने तयारीमा

निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्कने तयारीमा


निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने तयारी गरेका छन् । 

उनीविरुद्ध महाअभियोग लगाउन ९ वटा आधार र कारण संसदीय सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट जबरा सर्वोच्च फर्किने तयारीमा लागेका हुन् । आफूमाथि छानबिन गरिरहेको संसदको आयु नै गएरातिदेखि सकिएको हुँदा महाअभियोग स्वतः निष्क्रिय भएकाले जबराले फर्किने जानकारी सर्वोच्च प्रशासनलाई गराइसकेको उनीनिकट स्रोतले बताएको छ ।

यद्यपी सरकारले प्रहरी लगाएर उनलाई रोक्ने प्रयासमा लागेको छ । उनको निलम्बन फुकुवा नभएको भन्दै  'हड्ताली' वकिल र सर्वोच्चका केही न्यायाधीश गेटैमा छेक्ने तयारी गरिरहेका छन् । फागुन २२ मा महाभियोग सिफारिस समितिका ११ सदस्यमध्ये प्रतिवेदन पारित गर्न दुई तिहाइ पुगेन । सत्ताधारी ६ सांसद महाअभियोगमा पक्षमा उभिएका छन् भने एमाले र लोसपाका गरी ५ सांसदले प्रतिवेदनउपर फरक मत राख्दै असहमति जनाएका छन् । एमालेले ८ बुँदामा ‘नोट अफ डिसेन्ट’ लेखेको छ ।

समिति सदस्य रहेका एमाले नेता विष्णु पौडेलले प्रमाणहरू अपुरो रहेको र नपाइएको बताउँदै महाअभियोगलाई सत्ता गठबन्धनले खेलाचीका रूपमा लिएको आरोप लगाएका छन् । जबरामाथि केही विषयमा अनुसन्धान गर्नुपर्ने औंल्याउँदै सत्तागठबन्धनका सांसदले त्यसका लागि यस संसदमा समय अपुग भएकाले अर्को प्रतिनिधिसभाको बैठक पर्खिनुपर्ने सुझाव दिएका छन् ।

गत फागुन १ गते सत्ता गठबन्धनका ९८ जना सांसदले जबराविरुद्ध महाभियोग दर्ता गरेका थिए। त्यससँगै उनी निलम्बनमा परेका थिए ।११ सदस्यीय सिफारिस समितिले बहुमतका आधारमा तयार पारेको प्रतिवेदन सभामुखलाई बुझाएको हो । एमालेले समितिको प्रतिवेदनमा ८ बुँदे फरक मत राखेपछि प्रतिवेदन बहुमतबाट पारित भएको थियो ।

Logo