डा. केसीलाई सुविधासम्पन्न अस्पतालमा लैजान सेती अस्पतालको आग्रह

डा. केसीलाई सुविधासम्पन्न अस्पतालमा लैजान सेती अस्पतालको आग्रह


सेती प्रादेशिक अस्पतालले विगत ८ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई उपचारको लागि अन्यत्र लैजान आग्रह गरेको छ । 

स्वास्थ्य सेवा सुधारका विभिन्न माग राखेर अनशनमा बसेका डा. केसीलाई उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान सेती अस्पताल प्रशासनले आग्रह गरेको हो । केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्राबको शंका भएको भन्दै अस्पतालका प्रवक्ता डा शेरबहादुर कमरले थप जटिलता हुन सक्ने भएकाले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरणका लागि पहल गर्न आग्रह गरेका छन् ।

अस्पतालले सोमबार एक विज्ञप्ती जारी गर्दै विशिष्टिकृत अस्पतालमा स्थानान्तरणको पहल गरिदिन सुदूरपश्चिम मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र संघीय स्वास्थ्य मन्त्रालयमा जानकारी गराएको हो । 

धनगढी स्थित कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि अनशन बसेको ३ दिनपछि २९ भदौमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

डा.केसीलाई पेट दुख्ने, कमजोरी हुने, टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, मांशपेशी बाँउडिने, मुटुको धडकन गडबडी र अक्सिजनको मात्रा घट्दै गएको अस्पतालले जनाएको छ । केसीको उपचारमा अस्पतालले शुद्ध पानी, नर्मल स्लाइन, रिंगर ल्याक्टेट मात्र प्रदान गरिएको प्रवक्ता डा. कमरले जानकारी दिए । 

सेती अस्पतालको विज्ञप्ती 

Logo