गोठाटार घटनामा गोली प्रहारबाट घाइते भएका दर्जीको उपचारका क्रममा मृत्यु

गोठाटार घटनामा गोली प्रहारबाट घाइते भएका दर्जीको उपचारका क्रममा मृत्यु


काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ ।

सर्लाहीको हरिवन नगरपालिका वडा नं २ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो । त्रिवि शिक्षण अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरी स्रोतले बताएको छ । 

रातो टिर्सट र जिन्स लगाएको र मोटरसाइकलमा आएका व्यक्तिले मोहम्मदलाई गोली हानेर फरार भएको थियो । गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाईँ गरिएको छ ।काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । 

दर्जी गार्मेन्ट व्यवसायी भएको पुष्टि भएको छ । सर्लाहीको हरिवन घर भएका उनले गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । 

Logo