जलविद्युत र पर्यटन क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

जलविद्युत र पर्यटन क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह


प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन् । 

मंगलबार बालुवाटारमा नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् । “प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेशियाको सरकारी तथा निजी क्षेत्रको लगानी भित्र्याउन तथा नेपालको हिमाली पर्यटनलाई इन्डोनेशियाका पर्यटकबीच प्रवद्र्धन गर्न आग्रह गर्नुभएको छ,” प्रधानमन्त्रीलाई उदृत गर्दै नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले बताए । 

प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेशियाको आवासीय दूतावास स्थापनाका लागि इन्डोनेशियाको सरकारलाई आग्रह गरेका छन् । उनले इन्डोनेशियन जनतालाई शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनी भ्रमणका लागि समेत आग्रह गरे । 

उक्त भेटमा नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाको लागि आफू सकारात्मक रहेको बताउदै नेपालका प्रधानमन्त्रीको यो सन्देश इन्डोनेशिया सरकारसँग आफूले पु-याइदिने बताएका छन् । 

उनले कूटनीतिक तथा सरकारी राहदानीबाहकहरुलाई भिसा सहजीकरणको लागि दुई देशबीच छिट्टै सम्झौता हुने बताए । आगामी अक्टोबर महिनामा इन्डोनेशियामा आयोजना हुन गइरहेको ट्रेड एक्स्पोको प्रवद्र्धनका क्रममा नेपालमा रहेका राजदूत सुबोलोले नेपाल र इन्डोनेशियाबिच दुई पक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्न एक्स्पोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताए ।  

उनले नेपाल भ्रमणका लागि इन्डोनेशियाका पर्यटकलाई सहज वातावरण बनाउन आग्रह गर्दै नेपालीहरुलाई इन्डोनेशिया भ्रमण गर्दा सहज वातावरण बनाउनका लागि अन अराईभल भिसा उपलब्ध गराउनेसम्बन्धी काम भइरहेको जानकारी गराएका थिए । 

भेटमा नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत ढकालसहित दूतावास तथा वाणिज्य दूतको कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Logo