चेपाङलाई घर बनाइदिने भन्दै ठगी गर्ने पाँचजना पक्राउ

हेटौँडा,
गरिब बिपन्न चेपाङलाई घर बनाइदिने भन्दै रकम असुली गरी ठगी गर्ने मकवानपुरका पाँचजना चेपाङ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका वडा नं ५ का ३८ वर्षीय दानियल भनिने श्यामबहादुर प्रजा (चेपाङ), ३४ वर्षीय विनोद प्रजा (चेपाङ), ३० वर्षीय दीपक प्रजा (चेपाङ), २५ वर्षीय प्रिन्स भनिने राजकुमार प्रजा (चेपाङ) र २४ वर्षीय राज प्रजा (चेपाङ) रहेका छन् ।

उनीहरुलाई बिहिबार काठमाडौँस्थित महानगरीय प्रहरी वृत्त बालाजुको गस्ती टोलीले माछापोखरी चोकको अण्डरग्राउण्डस्थित महाबौध्द मःम सेन्टरबाट पक्राउ गरिएको हो । महानगरीय प्रहरी बृत्त बालाजुका प्रहरी नायब उपरिक्षक बाल नरसिंह राणाका अनुसार चितवनको लोथरमा ३०० वटा घर बनाउने भन्दै सर्बसाधारणसँग प्रति फारम शुल्क २ हजार रुपियाँ असुलिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो ।

चितवनको राप्ती नगरपालिका १३ का सन्तोष प्रजा (चेपाङ) र जगमणि प्रजा (चेपाङ) सँग फारम शुल्क लिई घर निर्माण सम्पन्न भइसकेपछि ५ लाख रुपियाँ तिर्नुपर्ने लिखित कागजमा सहीछाप गर्दागर्दै प्रहरीले उनीहरुलाई पक्रेको हो । ३०० वटा घर बनाउने भनेर पहिलोचरणमै ६ लाख रुपियाँ ठगी गर्ने तयारीमा रहेको गिरोहको साथबाट नगद ८५ हजार ५ सय, विभिन्न सरकारी कार्यालयका छापहरू, राजनीतिक तथा प्रशासनिक व्यक्तिहरुको भिजिटिङ कार्डहरु, रजिष्टर, एभरेष्ट बैँक र महालक्ष्मी बैंकको २ थान चेकबुक, रजिष्ट्रेशन फर्म एवं ८ थान मोबाइल र केही राहदानी पनि बरामद गरिएको प्रहरी नायव उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिनुभयो ।

यसअघि पनि मकवानपुर र चितवनमा गरिव चेपाङ समुदायमा घर बनाइदिने तथा विभिन्न किसिमका मुद्दा मिलाइदिने भन्दै भइरहेका गुनासाहरु सुनिएका थिए । पक्राउ परेका व्यक्तिहरु कतिपय घटनामा पटके रहेको स्थानीय चेपाङ अगुवाहरुले बताएका छन् ।
गोरखापत्रबाट