दूध आयात खोल्ने सरकारको निर्णयप्रति चितवनका किसान असन्तुष्ट, आन्दोलनमा उत्रने चेतावनी

दूध आयात खोल्ने सरकारको निर्णयप्रति चितवनका किसान असन्तुष्ट, आन्दोलनमा उत्रने चेतावनी


चितवन जिल्ला दूग्ध उत्पादक सहकारी सङ्घले सरकारको दूध आयात खोल्ने निर्णयप्रति  विरोध गरेको छ । 

संघले मंगलबार चितवनको भरतपुरमा पत्रकार सम्मेलन गर्दै दूध आयात खोल्ने सरकारको निर्णयको विरोध गरेको हो । विदेशबाट दूध आयात गर्ने बाटो खोल्ने बित्तिकै ६ लाख परिवार र १ हजार ८७२ दुग्ध उत्पादक सहकारी संस्था धराशायी हुने संघका जिल्ला अध्यक्ष रत्नमणि न्यौपानेले बताए ।

‘हामी कृषि तथा पशुपन्छी मन्त्रालय र अर्थ मन्त्रालयलाई ध्यानाकर्षण गराउन चाहन्छौँ’ उनले भने, ‘किसानको महिनौँको दूधको भुक्तानी नदिने विदेशबाट डलरमा पहिला रकम जम्मा गरेपछि मात्र दूध ल्याउने, नेपालका कृषकबाट खरिद गरिएको भन्दा महँगो मूल्यमा कच्चा दुग्ध विदेशबाट खरिद गर्न नहिच्किचाउने गरी दूग्ध विकास संस्थानले आयात गर्न लागेको र अन्य डेरी उद्योगीहरू पनि खरिद प्रक्रियामा लागेको हुँदा यस विषयमा संवेदनशील हुन सरकालाई हामी अपिल गछौं ।’

उनले आन्दोलनमा उत्रने समेत चेतावनी दिए । संघका जिल्ला उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले २०७५ सालयता रोकिएको आयात सरकारले चार दिनअघि खोल्ने निर्णय गरेको बताए । डेरी उद्योगीलाई भारतबाट दैनिक डेढ लाख लिटर दूध आयात गर्न सरकारले स्वीकृति दिएको उनको भनाइ छ ।

देशको उत्पादनले माग धान्ने अवस्था रहँदा रहँदै आयात खोलेको हुँदा नेपाली किसान मर्कामा पर्ने सङ्घले जनाएको छ । यसअघि डेरी उद्योग सङ्घले विज्ञप्ति जारी गर्दै  पछिल्लो समय बजारमा झोल दूधको अभाव भएको भन्दै सरकारलाई आयात खोल्न माग गरेको थियो ।  दूध अभावका कारण दुग्ध विकास संस्थान (डीडीसी) र निजी डेरी उद्योगले लगभग ४० प्रतिशतसम्म बिक्री कटौती गर्नुपर्ने बाध्यता रहेको  जनाएको छ ।

 

Skip This
Logo