मदन पुरस्कारका दाबेदार महेश थापालाई ७ प्रश्न

व्यङ्ग्यकारको रुपमा परिचय बनाएका महेश थापाको कथासङ्ग्रह ‘मरीचिका’ यस वर्षको मदन पुरस्कारको निम्ति छनौट भएका उत्कृष्ट सात पुस्तकको सूचीभित्र परेको छ ।

उनी विगत १६ वर्षदेखि ‘मोटर न्युरोन डिजिज’ नामक गम्भीर रोगबाट पीडित छन् । हिंड्न, बोल्न र समाउन समेत समस्या भएका उनी आंशिक रुपमा चल्ने दाहिने हातका माझी र साँइली औँलाले ‘माउस क्लिक’ गर्दै कम्प्युटरको अनस्क्रिन किबोर्डको सहायतामा लेख्ने गर्छन् ।

२०३४ पुस ९ गते हरिवन–९, सर्लाहीमा जन्मिएका थापा हाल सानोठिमी भक्तपुरमा बसोबास गर्छन् । बुद्धिचालको अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका उनी पत्रकारिता पृष्ठभूमिबाट लेखनमा आएका हुन् । आत्मकथा ‘अल्पविराम’ (२०७०) र हास्यव्यङ्ग्य संग्रह ‘नमोनमः’ (२०७४) समेत गरी हालसम्म उनको तीन कृति प्रकाशित छन् ।

उनै सर्जक थापासँग केन्द्रविन्दुका लागि ज्ञानमणि नेपाल कालोटोपीले ७ प्रश्न गरेका छन्।

१. तपाईंले पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?

– मैले पढेको पछिल्लो पुस्तक डा. अजीतकुमार दासद्वारा लिखित ‘उत्तरआधुनिक परिवेश में उदयप्रकाशकी कहानियाँ’ हो ।

२. तपाईंले उक्त पुस्तक कसरी छनोट गर्नुभयो ?

–वर्तमान भारतीय कथाकारहरुमा उदयप्रकाश मलाई बेजोड लाग्छन् । उनको ‘तिरिछ’ शीर्षक कथा पहिलोपल्ट पढ्दा ‘हो, यस्तो कथा लेख्न सकिए पो’ भन्ने भाव म भित्र पलाएको थियो । त्यतिबेलासम्म मेरो कथा लेख्ने कुनै योजना थिएन । तर, मलाई मन परेका ‘तिरिछ’ लगायत उनका अन्य केही कथालाई भारतका ठूला भनिने कतिपय लेखक÷समालोचकले कथै नमान्ने, हाँसोमा उडाउने गरेको थाहा पाउँदा म उदेकिएको थिएँ । विचारधाराकै कारण साहित्यको कला पक्ष र शिल्पलाई मान्छेले कुन हदसम्म नजरअन्दाज गर्न सक्छ ? जान्ने उत्कण्ठा पलायो । त्यो स्तरमा नकारात्मक टिप्पणी गर्नेहरुको तर्क के रहेछ ? म जान्न चाहन्थें । त्यसैका निम्ति उदय प्रकाशको कथाकारितामाथि समालोचनात्मक कृति खोज्ने क्रममा अनलाइनमा भेटेर यो किताब मैले दिल्लीबाट मगाएको हुँ ।

३. उक्त पुस्तकको सार के पाउनु भयो ?

–बजारतन्त्र र उपभोक्तावादी संस्कृतिका कारण हाम्रो समाज र व्यवस्थामा आएको विचलन, सांस्कृतिक तथा मानवीय मूल्यमा भइरहेको ह्रास एवं बढ्दो संवेदनहीनता जस्ता उदयप्रकाशका कथाको केन्द्रमा रहने विषयलाई प्रष्ट्याउने कोसिस गरिएको छ ।

४. उक्त पुस्तकको कुन कुराले छोयो र किन ?

– जुन प्रयोजनको लागि मैले यो किताब किनेको थिएँ, त्यो चाहिँ मैले यसमा भेटिनँ । तर, एउटा सामान्य पाठकलाई उदयप्रकाशका कथा बुझ्न यसले पक्कै मद्दत गर्नेछ ।

५. पुस्तकमा कुन पक्ष सुधार गर्नुपर्ने लाग्यो ? पुस्तकको कमजोरी के पाउनुभयो ?

– उदयप्रकाशको कथाकारिता र त्यसको प्राविधिकपक्षबारे व्याख्या विश्लेषण खासै छैन । कथाका लामालामा अंश उद्धृत गरेर तिनैलाई अथ्र्याउने जमर्को गरिएको छ । उदयप्रकाशका कथाको व्याख्या जसरी हुन सक्थ्यो, हुनुपर्थ्यो , त्यसरी भएको छैन । अलिक सतही लाग्यो । जस्तैः ‘तिरिछ’मा बजारतन्त्र र उपभोक्तावादी संस्कृतिको प्रतीकका रुपमा सहरलाई उभ्याइएको हो सम्म पनि उनले भन्न सकेका छैनन् । बरु उनले सहरबासीको क्षुद्र एवं नृशंस कृत्यका कारण कथावाचकको पिताको मृत्यु भएको हो भन्ने कोणबाट व्याख्या गरेका छन् । त्यस्तो सतही व्याख्याले उदयप्रकाशलाई उडाउनेहरुको कित्तामै पुर्याउँछ ।

६. यो पुस्तकलाई रेटिङ गर्नुपरे २० पूर्णांकमा कति नम्बर दिनुहुन्छ ?

–आफूले खोजेको कुरा नभेटेको हुँदा यो किताबप्रति म खासै सकारात्मक हुन सकिनँ । तथापि, उत्तीर्णाङ्कसम्म दिन्छु, २० मा ८ अङ्क ।

७. हाम्रा पाठकलाई पुस्तक छनोट गर्न के कस्तो तरिका सुझाउनुहुन्छ ?

–आफ्नो रुचि र क्षेत्रको आधारमा मान्छेले पुस्तक छनौट गर्ने हुन् । अहिले त नयाँ पुराना पुस्तकबारे जानकारी दिने अनेकौँ माध्यम उपलव्ध छन् । सामाजिक संजालमा पनि बहस, टीकाटिप्पणी भइरहेका हुन्छन् । लेखकले फरक पार्छ । राम्रा लेखकको नयाँ पुस्तक आउँदा त्यसले स्वतः ध्यान खिच्छ । कुनै क्षेत्रका प्रवुद्ध व्यक्तिहरुले सार्वजनिक रुपमा सिफारिस गरेका पुस्तक पनि ध्यान दिन योग्य हुन्छन् ।