राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट पेश, दर्ता भने विहीबार हुने

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट पेश, दर्ता भने विहीबार हुने


सर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान उल्लंघन गरेको भन्दै रिट पेश भएको छ ।

अधिवक्ता डा. सुनिलरञ्जन सिंहले बुधबार रिट पेश गरेका हुन् । तर, उक्त रिट बुधबार सर्वोच्चमा दर्ता भने हुन सकेन । विहीबार निवेदन दर्ता हुने सर्वाेच्चका कर्मचारीले आश्वासन दिएको उनले बताए ।

रिटमा राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेर संविधानको धारा १०, ११, १२, १३, १४, १५ १६(१), १८(१), ६६(१), १११ र ११३(४) को गम्भीर उल्लंघन गरेको दावी गरिएको छ । निवेदनमा विधेयक प्रमाणीकरण नगरेकाले योग्य नेपालीले नागरिकता नपाई संविधानको धारा ११ उल्लंघन भएको दावी गरिएको छ । संविधानको धारा १० मा कुनैपनि योग्य व्यक्तिलाई नागरिकताको अधिकारबाट वञ्चित नगरिने उल्लेख छ ।

संविधानको धारा १२, १३ र १४ मा समेत नागरिकताका प्रावधानहरु छन् । विधेयक प्रमाणीकरण नहुँदा संविधानमा उल्लेख भएको संघीय कानून बमोजिम नागरिकताका प्रावधान सञ्चालित हुन नपाएको भन्ने रिट निवेदनमा दावी गरिएको छ । विधेयक प्रमाणीकरण नहुँदा सम्मानपूर्वक बाँच्न पाउने हक, समानताको हक लगायतका संवैधानिक हक उल्लंघन भएको रिट निवेदनमा उल्लेख छ ।

विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संविधानमा उल्लेखित आफ्नो काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था उल्लंघन गरेको रिटमा उल्लेख छ । विधेयक अघि बढाउने र विधेयक प्रमाणीकरण गर्ने संवैधानिक व्यवस्थाको पालना नभएको सर्वोच्च अदालतमा पेश भएको निवेदनमा उल्लेख छ ।

रिट निवेदनमा राष्ट्रपतिलाई विधेयक प्रमाणीकरण गर्न आदेश जारी हुनुपर्ने माग छ ।  विधेयक प्रमाणीकरण नगर्ने कुनै निर्णय भएको भए त्यसको बदर हुनुपर्ने माग समेत गरिएको छ ।

Logo