प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्दै
फाईल फोटोः प्रधानमन्त्री केपी शर्मा ओली संसदलाई सम्बोधन गर्नुहुदैं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आइतबार सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीले समसामयिक विषयमा सदनमा सम्बोधन गर्न लागेको निजी सचिवालयले जनाएको छ। यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिनेक्रममा प्रमुख प्रतिपक्ष दलसँग विवाद उत्पन्न भएको थियो।

त्यसपछि चालु अधिवेशनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर छलफल हुन सकेको छैन।

यसैबीच, संघीय संसद भवन नयाँ बानेश्वरमा विहान ११ बजे बस्ने बैठकमा विभिन्न बिद्येयक तथा प्रतिवेदन प्रस्तुत गर्ने कार्यसुची छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्ण कुमारी सुवेदीले ‘वन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछन्।  राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति  शशि श्रेष्ठले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने संसद सचिवालयले जनाएको छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले ‘राष्ट्रिय खेलकुद विकास विधेयक, दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् भने खानेपानीमन्त्री विना मगरले ‘खानेपानी तथा सरसफाइ विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछिन्।

कृषि तथा पशुपंक्षी विकासमन्त्री  चक्रपाणी खनालले ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने  छ भने मन्त्री खनालले नै ‘बिउ बिजन (दोस्रो संशोधन) विधेयक, छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ।