गृहसचिव सिंह प्रहरी प्रधान कार्यालयमा, नागरिकसँगको सम्बन्ध अझ प्रगाढ बनाउन निर्देशन

गृहसचिव सिंह प्रहरी प्रधान कार्यालयमा, नागरिकसँगको सम्बन्ध अझ प्रगाढ बनाउन निर्देशन


गृह सचिव विनोद प्रकाश सिंहले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । 

निरीक्षणका क्रममा गृह सचिव सिंहले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ शाखा र कमाण्ड सेन्टरको गतिविधिबारे जानकारी लिएका थिए । निरीक्षण पश्चात गृहसचिव सिंहले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई सम्बोधन गर्दै विभिन्न निर्देशन दिएका थिए । 

उनले संगठनको उद्देश्य र लक्ष्य हासिल गर्न सबै प्रहरी कर्मचारीहरू ऐक्यबद्ध भई प्रतिवद्ध र लगनशील हुन आग्रह गरेका थिए ।  आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनिकरणको लागि थप प्रभावकारी भूमिका निर्वाह गर्न उनले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । 

गृह सचिव सिंहले उच्चआचरण एवम् इमानदारिपूर्वक सांगठनिक प्रतिवद्धतामा अविचलित भई जिम्मेवारी वहन गर्न प्रहरीलाई निर्देशन दिएका थिए । इतिहासको हरेक असजिलो अवस्थामा आफूलाई संयमित राखेर राष्ट्रको सेवा र जनताको सुरक्षामा नेपाल प्रहरीले खेलेको भूमिका अत्यन्तै  सराहनीय रहेको उनले बताए ।

सम्बोधनका क्रममा उनले नागरिकसँगको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाएर आगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । आउँदो निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र भयरहित तवरले सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरूले अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी जिम्मेवारी वहन गर्न उनले आग्रह गरेका थिए । 

Logo