नेता रायमाझीको दाबीः ‘गठबन्धनका दलहरुसँग एक्लाएक्लै भिड्ने हैसियत नै छैन’

नेता रायमाझीको दाबीः ‘गठबन्धनका दलहरुसँग एक्लाएक्लै भिड्ने हैसियत नै छैन’


प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरुसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीसँग एक्लाएक्लै भिड्ने हैसियत नै नभएको दावी गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका सचिव रायमाझीले एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाहरुले काँग्रेससँग गठबन्धन गरेर आफ्नो अस्तित्व रक्षा गर्न खोजेको आरोप पनि बताए । 

नेकपा (एमाले) अर्घाखाँची–काठमाडौं सम्पर्क मञ्चले शनिबार (आज) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेसँग प्रतिस्पर्धा गर्न नसकिने निष्कर्षमा पुगेपछि सत्तारुढ दलहरु गठबन्धन गरेरै निर्वाचनमा जान बाध्य भएको दोहो-याएका हुन् । 

‘नेकपा (एमाले)सँग आज निर्वाचनमा एक्लै भिड्ने कसैको हिम्मत छैन भन्ने कुरा उनीहरुले गठबन्धन बनाएबाट पुष्टि हुन्छ । तथ्यले त्यही बताउँछ । आफ्नो अस्तित्व रक्षाका लागि पनि कतिपय दलहरुले गठबन्धन आवश्यक्ता हो भनेर काँग्रेसको पुच्छर बनिरहेका छन् ।’ उनले भने, ‘गठबन्धन गरेपनि उनीहरुलाई सजिलो छैन । एउटा पार्टी भित्र त प्रत्यक्ष र समानुपातिक सिट बाँडफाँडमा समस्या भईरहेको छ भने उनीहरुलाई झन गाह्रो हुनेछ । यो गठबन्धन देशी, विदेशी प्रतिक्रियावादीहरुले बनाएका हुन । यो उनीहरुकै इसारामा चल्छ ।’ 

सचिव रायमाझीले केपी ओली नेतृत्वको सरकारले मुलुकको विकास र समृद्धिका लागि गरेको कामलाई नेपाली जनताले कहिल्यै नभुल्ने समेत उल्लेख गरे । उनले सत्तारुढ गठबन्धनले चुनाव जिते मुलुक २० वर्षपछि पर्ने भन्दै एमालेको पक्षमा मतदान गर्न पनि सबैलाई आग्रह गरे । 

Logo