प्रतिभा पलायन रोक्न २० लाख युवालाई कर छुट

युरोपेली राष्ट्र पोल्यान्डले प्रतिभा पलायन रोक्न कर कानूनमा परिवर्तन गर्ने निर्णय गरेको छ । यो देश सन् २००४ मा युरोपेली युनियनमा जोडिएको थियो । प्रधानमन्त्री मातेयूज मोरावीकीको भनाइमा युरोपियन युनियनमा समावेश भएपछिको १५ वर्षमा करिब १७ लाख मानिसले देश छोडेका छन् । त्यस्तो पलायन रोक्न सरकारले ल्याएको कानुनअनुसार ८५ हजार ५२८ पोलिस ज्लोटी (करिब २४ लाख रुपैयाँ) भन्दा कम आय भएका २६ वर्षसम्मका युवालाई आयकरमा १८ प्रतिशत छुट दिइनेछ ।

कानुन लागू भएपछि पलायन रोकिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री मातेयूजका अनुसार यो कानुनले युवालाई त्यस्तै सुविधा प्रदान गर्नेछ जुन उनीहरूले विदेशमा पाउँछन् । कानुन १ अगस्टदेखि लागू भइसकेको छ । यसले २६ वर्षका २० लाख युवालाई फाइदा पुग्ने अनुमान छ । कानुन लागू भएपछि युवाको पलायन रोकिने प्रधानमन्त्रीको आशा छ ।

सन् २००४ मा पोल्यान्ड र सात अन्य मध्य र पूर्वी युरोपेली देश युरोपेली संघमा समावेश भएपछि त्यहाँका नागरिकले वर्क परमिट वा भिसाबिना नै अन्य युरोपेली देशमा काम गर्ने अधिकार पाए । वार्सास्थित माइग्रेसन रिसर्च सेन्टरमा इकोनोमिक्स अफ माइग्रेसन रिसर्च युनिटकी प्रमुख बारबरा जानसेविजले भनिन्, ‘पलायनले देशको अर्थव्यवस्थामाथि नकारात्मक प्रभाव पर्दछ । पछिल्लो तीनदेखि चार वर्षमा देशमा मजदुरको कमी भएको छ ।’

२२ वर्षका किङ कितोवास्का कर्पोरेट एनालिस्ट हुन् । उनी लन्डनमा पढ्न गएकी थिइन् र त्यहाँ जागिर खान थालिन् । उनका अनुसार यो कानुनले युवामाझ केही आशा त पलाएको छ तर देश फिर्ता हुनका लागि यो पर्याप्त छैन । उनी भन्छिन्– ‘म पैसाको लागि मात्र लन्डन बसेकी होइन । मैले लन्डनमा जे काम गर्छु, त्यो पोल्यान्डमा गर्न सक्दिन ।’

अध्यागमन विशेषज्ञले सरकारको यो नीतिले काम नगर्ने प्रक्षेपण गरेका छन् । लन्डनको एक थिंक ट्याङ्क नेसनल इन्स्टिच्युट अफ इकोनोमिक एन्ड सोसल रिसर्चमा रोजगार र सामाजिक नीति समूहका प्रमुख हिथर राल्फले भने, ‘यो सबै पैसाबारे मात्रै होइन । बेलायतमा युवा पोलिस प्रवासीमाथि गरिएको शोधमा उनीहरू स्वतन्त्रता तथा जीवनमा अघि बढ्नका लागि आफ्नो देश छोड्ने गरेको बताउँछन् ।’
२००४ पछि बेलायत पोलिस युवाहरूको पहिलो रोजाइ बनेको छ । बेलायतमा करिब १० लाख पोलिस बस्छन् । जानसेविच भन्छिन्– ‘१८ प्रतिशत कर छुट हुनु भनेको ठूलो कुरा हो तर यतिले मात्र बेलायत र पोल्यान्डबीचको खाडल पुर्न सक्दैन ।’