छोराको रोदन- ‘मेरी आमाले सजिलै आत्महत्या गर्न सक्नुहुन्न’
  • कृष्णसिंह धामी ।

काठमाडौं । तनहुँ रुपाकोटकी ३८ वर्षीया दिल कुमारी गुरूङले काठमाडौंको एक होटलको चौथो तलबाट हाम फाल्दा ज्यान गुमाउन पुगिन् । साउन ३२ गते सुन्धारास्थित नागराज होटलको चौथो तलाको झ्यालबाट हाम फाल्दा उनको ज्यान गएको थियो । श्रीमान पोखराका सन्जीव गुरूङ तथा सासु ससुरासँगै उक्त होटलमा बसेकी दिल कुमारीले आत्महत्या गरेको नभइ ‘प्रि–प्लान मर्डर’ गरिएको दाबीसहित प्रहरीमा किटानी जाहेरी परेको छ ।

दिलमायाका भाई खेमराज गुरूङले दिदिको आत्महत्या नभई हत्या गरिएको भन्दै प्रहरीमा भिनाजु सन्जीवविरूङ किटानी जाहेरी दिएका हुन् । जाहेरीसँगै महानगरीय प्रहरी वृत्त जनसेवाले काठमाडौं जिल्ला अदालत काठमाडौंबाट कर्तव्य ज्यान मुद्दामा ६ दिनको म्याद लिएर अनुसन्धान थालेको छ । दिलमायाको मंगलबार अन्तिम संस्कार गरिएको छ । स्वयम्भुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिएको हो ।

मृतक दिलमायाका माइती पक्ष तथा छोराहरूले आत्महत्या नभइ हत्या भएको आरोप लगाएका छन् । दिलमाया नामले समेत चिनिने दिल कुमारीबारे यसअघि केन्द्रबिन्दुमा समाचार सम्प्रेशण भएसँगै उनका दुई छोराहरू सम्पर्कमा आए । उनीहरूले मम्मीले आत्महत्या गर्नै नसक्ने दावी गर्दै ‘प्रि–प्लान मर्डर’ गरिएको बताएका छन् । मलेसियामा रहेका जेठो छोरा सुदिप गुरूङले हामीसँगको कुराकानीमा आफ्नो आमाको बारेमा विस्तृत जानकारी गराएका छन् । जसबाट पनि उनको ‘प्रि–प्लान मर्डर’ भएको आशंका गर्न सकिन्छ ।

सन्दीपले हामीसँग गरेको कुराकानीको सम्पादित अंशः

आमा, बुवा र हामी दुई भाई भारतको सिलोङमा बस्थ्यौं । बाबा भारतीय आर्मी हुनुहुन्छ । हाँसी खुशीका साथ हाम्रो जीवनहरू वितिरहेका थिए । म र कान्छो भाई विश्वदिप स्कूल पढ्थ्यौं । बाबु आफ्नो डियुटीमा जानुहुन्थ्यौं । जेहोस् हामीहरू एकदमै खुशी थियौं । त्यही बीचमा सन् २०१३ तिरको कुरा हो । मम्मीको मोवाइलमा एउटा केटाको फोटो देखियो । मैले मम्मीलाई, ‘मम्मी यो कसको फोटो हो ? किन मोवाइलमा राख्नुभयो ?’ भनेर सोधे । मम्मीले ‘साथीको हो’ भन्दै कुरा टार्नुभयो ।

त्यही विषयलाई लिएर विस्तारै–विस्तारै बाबासँगको सम्बन्धमा दरार आउन थाल्यो । त्यसपछि म र भाई पनि मम्मीसँग रिसायौं । त्यहाँबाट हामीले नेपाल जाने निर्णय गर्‍यौं । ११ मा पढ्दै गर्दा काठमाडौं आए । रानीवनमा कोठा भाडामा लिएर बस्न थाल्यौं । त्यो बेलासम्म पनि राम्रै सम्बन्ध थियो । हामी दुई भाईबीच पनि बेला–बेला झगडा पर्थ्यो । सानोमा जसको पनि त्यस्तै त हुन्छ नि ! हाम्रो त्यही हुन्थ्यो । त्यसपछि घरबेटीले हामीलाई घरबाट निक्लिन भन्यो । हामी अर्को ठाउँमा बस्यौं ।

मम्मीले विदेश जाने कुरा गर्नुभयो । साइप्रस जाने कुरा गर्दा बाबा र हामीले पनि हुन्छ त नि भन्यौं । त्यहाँ जान करिब ७ लाख जति खर्च लाग्ने रहेछ । त्यो मध्ये केही बाबाले दिनुभयो । बाँकी पैसा मम्मी आफैंले व्यवस्था गर्नुभयो । मैले मम्मीलाई ‘त्यो पैसा कताबाट लिनुभयो’ भनेर प्रश्न पनि गरे । उहाँले ‘साथीले दिएको’ भन्नुभयो । त्यसोभए ठिकै छ त नि उता गएपछि तिरिदिउँला भनें ।

मम्मी सन् २०१५ मा साइप्रस जानुभयो । त्यहाँ राम्रै थियो । मम्मीसँग बेला–बेला कुरा भइरहन्थ्यो । मम्मीको भारतमा हुँदा नै अर्को केटा (सन्जीव गुरूङ) सँग अफेयर रहेछ । त्यही विषयलाई लिएर बाबा र मम्मीको झगडा परिरहन्थ्यो । अनि सन् २०१८ मा मम्मी नेपाल आउनुभयो । बाबा पनि भारतबाट नेपाल आउनुभयो । र, मम्मी बाबाको सम्बन्धमा ब्रेक (डिभोर्स) लाग्न पुग्यो । अब हामी दुई भाई जीवनमा एक्लै भएको महसुस गर्न थाल्यौं । उता बुबाले पनि अर्को विहे गर्नुभयो । डिर्भोस भएपछि मम्मी फेरि साइप्रस जानुभयो । साइप्रसबाट मम्मीलाई अर्को देश ग्रिस लगियो । त्यहाँ अलि चियो बढी हुन्थ्यो । ग्रिसमा हुँदा पनि मम्मीसँग कुराकानी भइरहन्थ्यो । म पनि मलेसिया गए । मलेसियामा हुँदा मम्मी र मेरोबीच समय–समयमा कुरा भइरहन्थ्यो ।

ग्रिसमा हुँदा मम्मीको स्वास्थ्यमा समस्या आयो । उहाँले चेकअप गराउनुभयो । जहाँ उपचार निकै महंगो थियो । केही पैसा उतैको मालिकले तिरिदिनुभयो । त्यसपछि उपचारको लागि भन्दै मम्मी नेपाल आउनुभयो ।

मम्मी नेपाल आउँदा बाबा पनि भारतबाट नेपाल आउनु भयो । मम्मेको साथी (अहिलेको श्रीमान) पनि काठमाडौं आए । काठमाडौंमा दुवैजनाबीच भेट भयो । भेटपछि मम्मीले म सँग कुरा कम गर्नुभयो । ‘मलाई र भाईलाई फोन गर्न नदिने, म्यासेज गर्दा गाली गर्ने कुटपिट गर्ने’ गर्नुहुन्थ्यो । जसले गर्दा मम्मीले लुकी लुकी मसँग कुराकानी गर्नुहुन्थ्यो ।

गत वर्ष छुट्टिमा नेपाल आउँदा त्यो केटासँगै हुनुहन्थ्यो । पोखरा जाँदा त्यस (सन्जीव) ले ‘लाष्टै टर्चर दियो, पेटमा लात्तैलात्ताले हान्यो’ भन्नुभएको थियो । त्यहाँ हुँदा उसको टर्चर सहन नसकेर मम्मीले आत्महत्या गर्ने प्रयास समेत गर्नुभएको थियो । तर, सक्नुभएको थिएन् । त्यसपछि त्यो केटा आफैंले मार्ने प्लान बनाएको थियो । त्यति धेरै टर्चर, यातना सहेर पनि मम्मीले उसलाई माया गर्नुहुन्थ्यो । भनेजति पैसा दिनुहुन्थ्यो । विदेशबाट फर्किदा आइफोन पनि ल्याइदिनुभएको थियो । सुनको औठी समेत बनाइदिनुभएको थियो । मम्मीले उसलाई बेला–बेला सके जति पैसा पनि दिनुहुन्थ्यो । म सँग जतिबेला पनि कुरा हुँदा निकै कुरा गर्नुहुन्थ्यो । निकै पीडाका कुरा सुनाउनुहुन्थ्यो ।

यो घटना हुनुभन्दा केही समय अघि मात्रै नेपाल आउनुभएको थियो । मम्मी नेपाल आउँदा भारतबाट उहाँको श्रीमान पनि आउनुभयो । नेपाल आउनु उहाँको मुख्य उद्देश्य भनेको उपचार गराउनु थियो । किनकी ग्रिसमा उपचार निकै महंगो थियो । उहाँमा पेटमा पत्थरी र एउटा आँखामा जाली परेको थियो । त्यसको उपचारका लागि उहाँ नेपाल आउनुभएको हो । मम्मी नेपाल आउँदा चार लाख रुपैयाँ लिएर आउनुभएको थियो । काठमाडौंमा दुई दिन भाईसँगै बस्नुभयो । त्यसपछि भारतबाट आएको श्रीमानसँगै पोखरा जानुभयो । काठमाडौंमा चेकअप गराउँदा पेटमा पत्थरी नभएको पत्ता लाग्यो । त्यसपछि मम्मीले ‘पेटमा केही पनि समस्या छैन् । आँखाको उपचारको लागि एक हप्ता पछि आउनुभन्नु भएको छ’ भन्नुभएको थियो ।

मम्मीलाई पोखरा आफ्नो घर लैजानुभयो । पोखरा जाँदा मम्मीलाई आमा बुवालाई भेटाउने भन्नुभएको थियो । त्यहाँ घर नलगेर एउटा होटलमा राख्नुभयो । त्यो सबै खर्च मम्मीले नै तिर्नुभयो । म र भाईसँग जति कुरा हुँदा ‘मलाई कुट्नु हुन्छ, गाली गर्नुहुन्छ’ मात्रै भन्नुहुन्थ्यो । ‘मम्मी त्यहाँ हुँदा निकै दुःख पाउनुभयो । मम्मी त्यस्तो भए त्यहाँ किन बस्नुभएको ? छोडेर यता हामीसँगै बस्न आउनुहोस्’ भन्दा ‘जति कुटपिट गरे पनि माया लाग्छ भन्नुहुन्थ्यो’ त्यति माया गर्ने मेरो मम्मीलाई टर्चर दिएर पापीहरूले मारे ।

पोखराबाट सासु ससुरालाई पनि साथमा लिएर काठमाडौं आए । काठमाडौंको ठाउँ नबताएर मम्मीले हामी सबै होटलमा बसेका छौं भन्नुभएको थियो । घटना हुनुभन्दा एक दिन अगाडि मात्र म सँग मम्मीले निकै निराशाका कुरा गर्नुभएको थियो । मैले ‘मम्मी हरेस नखानुहोस्, हामी छौं । हामी सँगै आएर बस्नुहोस् भन्दा त्यस्तो हुदैन्’ भन्नु भएको थियो ।

मम्मीले मलाई शुक्रबार राति साढे १२ बजेतिर ‘सरी राजा, त आफ्नो केयर गर है बाबू, मिस यू राजा, मेरो किस्मत यस्तै रहेछ बाबू, म हारिसकें, बट त आफ्नो केयर गर है बाबू’ भन्दै म्यासेज गर्नुभएको थियो । त्यो राति म पनि सुतिसकेको थिए । मैले म्यासेज गरेर के भयो र किन यस्तो भन्नुभएको भन्दै म्यासेज गरे । तर कुनै प्रतिक्रिया आएन् । त्यसपछि एकाएक नेपालबाट भाईको फोन आयो । ‘दाई मम्मीले त आत्महत्या गर्नुभयो । उहाँ यो संसारमा रहनुभएन्’ भन्दै भन्दा म छाँगाबाट खसेजस्तै भए । एकछिन मेरो दिमागले काम गर्न सकेन् । मेरो मम्मीलाई उनीहरूले एकदमै यातना दिएर मारे । उनीहरूकै योजना अनुसार मम्मीलाई यहाँसम्म पुर्‍याइएको हो ।

मेरो मम्मीलाई उनीहरूले नै मारेका हुन् । यदि मेरो मम्मी त्यसरी मर्ने भए विदेशमा यतिका वर्ष बस्दा के त्यतै मर्न सक्नुहुन्नथ्यो होला र ? के मर्नकै लागि नेपाल जानु भएको थियो र ? मम्मीको मोवाइलमा भएका सबैकुरा उहाँहरूले डिलिट गरिसक्नु भएको छ । उहाँहरूकै योजनामा मेरो मम्मीको प्रि–प्लान मर्डर भएको हो ।

नेपाल आएको बेला मम्मीले ‘अब म सिधै सिलोङ गएर श्रीमानलाई भेटेर आउछु’ भन्नुभएको थियो । तर उहाँको सासु ससुराले जान मान्नु भएको थिएन् । उनीहरूले हामी भाईहरूलाई म्यासेज गर्नै नदिने, कुराकानी गरेको देख्दा कुटपिट गर्ने, गाली गलौज गर्ने जस्ता घटनाले पनि मम्मीलाई यहाँसम्म पुर्‍याएको हो । त्यसैले मेरो मम्मीले न्याय पाउनुपर्छ । मेरो मम्मीलाई यहाँसम्म पुर्‍याउनेलाई कडा भन्दा कडा सजाय नभएसम्म मम्मीको आत्माले शान्ति पाउने छैन् ।

दिलमायाको ‘प्रि-प्लान मर्डर’ भन्दै प्रहरीमा जाहेरी, श्रीमान हिरासतमा

‘बच्चा छ’ भन्दै वर्षौदेखि ढाट्दै, अन्ततः गरिन् आत्महत्या