भदौं १२ बाट नेपाल वायु सेवाले सिधा जापान उडान गर्ने

काठमाडौं । नेपाली ध्वजा बाहक विमानले आगामी भदौ महिना देखि काठमाडौं जापान सिधा उडान गर्ने भएको छ । नेपाल वायुसेवा निगमले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं ओसाका काठमाडौं उडान हुने बताएको हो ।

आगामी भदौ १२ गतेबाट जापानको ओसाकामा नियमित उडान गर्ने तयारी गरिरहेको निगमले टोकियोमा पनि उडान गर्ने भएको नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले जानकारी दिए ।

निगमले साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान गर्ने तालिका रहेको छ । काठमाडौं ओसाकाको उडान समय ६ घण्टा ३० मिनेटको हुने निगमले बताएको छ ।

यस्तै काठमाडौंदेखि जापानको नारिता विमानस्थल सम्मको उडान सम्बन्धमा पनि धेरै प्रक्रियागत कामहरु भैसकेको निगमले बताएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष खरेलले आगामी जनवरीको पहिलो साता काठमाडौं टोकियो काठमाडौं उडान हुन सक्ने बताए ।

नारिता विमानस्थलमा उडान गर्न निगमले पठाउनु पर्ने आवश्यक सम्पूर्ण कागजातहरु पठाइसकेको अध्यक्ष खरेलले जानकारी दिए । निगमले वाईडबडी ल्याएको करिब १४ महिनापछि नयाँ गन्तव्यमा उडान गर्न थालेको हो । निगमले ओसाकामा हुने सबै उडान वाइडवडी ए३३०–२०० बाट हुने जनाएको छ ।