ईभी एक्स्पोले पेट्रोलियम गाडीहरुलाई विस्थापित गर्ने नाडाका महासचिवको दाबी

ईभी एक्स्पोले पेट्रोलियम गाडीहरुलाई विस्थापित गर्ने नाडाका महासचिवको दाबी


अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)का महासचिव सुरेन्द्र कुमार उप्रेतीले हालै सम्पन्न ईभी एक्स्पोले आउँदो दिनहरुमा पेट्रोलियम सवारी साधनहरुलाई विस्थापित गर्ने दाबी गरेका छन् । 

नेपालको इतिहासमा पहिलोपटक आयोजना भएको नाडा ईभी एक्स्पोले सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको बताउँदै उनले यस्तो दाबी व्यक्त गरेका हुन् । यसले ग्रिन नेपालको अवधारणा साकार बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । 

 त्यस्तै, महासचिव उप्रेतीले विद्युतीय सवारी साधनको प्रोत्साहनकाे विषयलाई सरकार र कम्पनी दुवैले प्राथमिकतामा राखेको पनि बताएका छन् । सरकारतर्फबाट विभिन्र स्थानमा ५१ वटा चार्जिङ स्टेशनहरु निर्माणको काम अन्तिम चरणमा पुगेको र कम्पनीले आफ्नो ग्राहकहरुको लागि ५० देखि ६० किलोमिटरको दुरीमा चार्जिङ स्टेशन र सर्भिस सेन्टरको व्यवस्था गरेको उनको भनाई थियाे । 

भृकुटीमण्डपमा ४ दिनसम्म चलेको नाडा ईभी एक्स्पो आइतबार सम्पन्न भएको थियो । एक्स्पोमा ५१ वटा स्टल रहेका थिए, जसअनुसार चारपाँग्रे विद्युतीय सवारी साधनको ७, दुईपांग्रेको १६, टायरको ३, ब्याट्रिको २, अटोपार्टस् ५, ग्यारेज उपकरण र वित्तीय निकायसहित २४ वटा स्टल राखिएको थियो  । करिब ३५ हजार जनाले एक्स्पोकाे प्रत्यक्ष अवलोकन गरेको बताइएको छ । 

Logo