आत्महत्या दुरूत्साहनमा यी ३ कुरा पुष्टि हुनुपर्छ

काठमाडौं । पत्रकार शालिकराम पुडाशैनीको आत्महत्या प्रकरणले यतिबेला निकै चर्चा पाइरहेको छ । पुडाशैनीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको अभियोगमा चर्चित सञ्चारकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीमाथि अनुसन्धान भइरहेको छ ।

एकातिर रबिलाई फसाउन खोजिएको भन्दै चितवन, काठमाडौं, पोखरा लगायत विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ । भने अर्कोतिर घटनाले नयाँ मोड लिइरहेको छ ।

आत्महत्या दुरूत्साहन भन्नाले कसैले कुनै व्यक्तिलाई मर्न बाध्य बनाइएको भन्ने हो । तर आत्मअत्या दुरूत्साहन हुन् यी तीन कुरा अनिवार्य हुनैपर्छ । हामीले राम लोहनीको फेसबुकबाट यी कुराहरू लिएका छौंः

१. Suicide (आत्महत्या): व्यक्तिले आत्महत्या नै गरेको ठहरिनुपर्छ।

२. Instigation (उत्तेजना): आरोपित व्यक्तिले आत्महत्या गरेको व्यक्तिलाई आत्महत्याको लागि योजना बनाउन सहयोग गरेको, प्रोत्साहन गरेको पुष्टि हुनुपर्छ। जस्तो कि झुन्डिएर मरेको छ भने डोरी किनिदिएको वा डोरी किन्न पैसा दिएको। विष खाएको छ भने अन्य कुनै प्रयोजन नभएको अवस्थामा विष किनेर दिएको। उसलाई मर्नुबाहेक अरू विकल्प ऊसँग बाँकी छैन भनेर उसलाई कन्भिन्स गराउन प्रयास गरेको वा त्यस्तो परिस्थिति खडा गरेको। आत्महत्या गर्न प्रेरित हुने स्थानमा पुर्‍याएको आदि जस्ता कुरा पुस्टि हुनुपर्छ।

३. Mens rea : आरोपित व्यक्तिमा अपराधिक मानसिकता भएको पुष्टि हुनुपर्छ। जस्तो कि दाम्लो बनाउन किनिदिएको डोरीले झुन्डिएर मरेको बुझियो भने त्यो अपराधिक मानसिकता भएन। मुसा मार्न किनेको विष खाइदिएको हो भने त्यो पनि अपराधिक मानसिकता भएन। आरोपितले निर्वाह गरेको भूमिकामा अपराधिकता प्रमाणित हुनुपर्छ।

यी तीन कुरामध्ये पनि instigation महत्वपूर्ण हुन्छ। प्रेरित गर्ने, जगाउने, उत्तेजित गर्ने (प्रत्यक्ष वा परोक्ष) घटना भएको हुनुपर्छ । यो क्रममा आत्महत्या गर्ने व्यक्तिको आचरण र जीवनशैली, मनोवैज्ञानिक स्थितिको पनि उत्तिकै महत्व हुन्छ । किनभने व्यक्तिको आत्मसम्मानको फरक-फरक परिभाषा हुन्छ। आरोपितको व्यवहारबाट व्यक्तिको आत्मसम्मानमा गम्भिर चोट लागेर समाजको अगाडि मुख देखाउन नसक्नेस्थिति भएको छ भने त्यो अप्रत्यक्ष प्रोत्साहन भयो। तर स्वयम् व्यक्तिको कुनै करतुतको कारण फस्दै गएको छ र निश्चित प्रकारको ब्ल्याकमेलिङमा पनि परेको छ भने त्यो दुरुत्साहन हुन सक्दैन।

नेपाल, भारतमा आत्महत्या गर्न दुरुत्साहनका केस विशेषगरी नवविवाहित युवतीहरूमा देखिने गर्छ, खास गरेर दाइजोको विषयलाई लिएर। हाम्रो सामाजिक संरचनाले स्त्रीहरूलाई जुन स्थितिमा राखेको छ र दाइजो ल्याउन नसकेको विषय चर्को गरी उठेको र मानसिक तथा शारीरिक पीडा दिएको छ भने उपायविहीन स्थितिमा आत्महत्या गर्न बाध्य भएको हुन सक्छ। त्यो दुरुत्साहन हुन्छ। तर स्वतन्त्र व्यक्ति चारित्रिक दुर्वलताको कारण ब्ल्याकमेलिङमा पर्ने डरले वा ब्ल्याकमेलिङ (भयदोहन) मा पर्दै गर्दा वा कसैले जागिरबाट निकाल्दैमा वा आर्थिक समस्यामा पर्दैमा वा गम्भिर आरोप लगाउँदैमा सहन नसकेर आत्महत्या गर्छ भने त्यो आत्महत्या दुरुत्साहन हुन सक्दैन।

उदाहरणको लागि भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता भएको व्यक्तिले आत्महत्या गरिसकेपछि भ्रष्टाचार प्रमाणित भएन भने मुद्दा दर्ता गर्ने संस्थाको दुरुत्साहन ठानिँदैन। संस्था र सम्बन्धित व्यक्तिको गम्भिर लापरवाही वा अधिकारको दुरुपयोग ठहरिन सक्छ।

दुरुत्साहन हुनको लागि व्यक्तिको मानसिक अवस्था वा उमेर पनि महत्वपूर्ण तत्व हुन्छ। कानूनले तोकेको भन्दा कम उमेरको वा अशक्त अवस्थाको छ भने दुरुत्साहनको तर्क बलियो हुन्छ। मानसिक रूपले अस्वस्थ व्यक्तिले पनि ठिक र बेठिक छुट्टयाउन नसक्ने तर्कको आधारमा दुरुत्साहनको प्रभावमा परेको ठहरिन सक्छ।

परिवन्दले छेक्दै नल्याएको अवस्थामा मानसिक रूपले स्वस्थ्य व्यक्तिले संघर्ष गर्ने र आफूलाई सक्षम प्रमाणित गर्नुपर्ने दायित्व आफैसँग हुनुपर्छ, हुन्छ भन्ने सामान्य अपेक्षा गर्नुपर्ने हुन्छ।