उपचारका लागि प्रधानमन्त्री आज सिंगापुर जादै

काठमाडौँ,

प्रधानमन्त्री केपी शर्मा ओली आज उपचारका लागि सिंगापुर जादैछन् । सिंगापुरमा ओलीको उपचार गर्न करिव २ हप्ताको समय लाग्ने बताइएको छ । उनको स्वास्थ्य उपचारमा लामो समय लाग्ने भएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गरेको हो । ओली स्वास्थ्य उपचारका लागि बिहीबार (आज) दिउसो एक बजे सिंगापुर जाँदैछन् ।

मन्त्रिपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गर्दै प्रधानमन्त्री जहाँ भए पनि भिडियो कन्फ्रेन्समार्फत बैठक गर्न सक्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री अथवा निकटतम मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने प्रचलन थियो ।

प्रधानमन्त्री विदेश भएका बेला तत्काल कुनै निर्णय लिनु परेमा कार्यवाहक प्रधानमन्त्रीले नै मन्त्रिपरिषद्को बैठक राख्ने प्रचलन थियो । तर बैठक सञ्चालन कार्यसञ्चालन विधि संशोधनपछि प्रधानमन्त्रीले देश बाहिरबाट पनि मन्त्रिपरिषद् बैठक गरेर आवश्यक निर्णय लिन सक्ने बाटो खुलेको छ ।

नागरिकबाट