जोरपाटी–साँखु सडकमा संसदीय समितिको चासो

काठमाडौँ,

लामो समयदेखि अलपत्र रहेको जोरपाटी साँखु सडकखण्डमा संसदीय समितिले चासो देखाएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले भदौ ६ गते शुक्रबार सो सडक खण्डको अनुगमन गर्ने भएको हो ।

समितिकी सभापति कल्याणी खड्काले अलपत्र रहेको जोरपाटी साँखु खण्डको सडक अनुगमन गर्ने बताइन् । दुई बर्ष भित्र काम सम्पन्न गर्ने गरी सडकको काम २०७२ मा सुरु भएको थियो ।
विभिन्न विवादले गर्दा सडकको काम अझै अलपत्र रहेको छ । समितिकी सभापति खड्काले जोरपाटी सुन्दरीजल सडकखण्डको पनि अनुगमन गर्ने जानकारी दिइन् ।

सडक विस्तारका लागि म्याद सकिए पनि पटक–पटक म्याद थप गर्दै ठेकेदार कम्पनीलाई सडक विस्तारको जिम्मा लगाए पनि कामले गति लिन सकेको छैन । सरकारले चावहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना सार्वजनिक गरेको थियो ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । ११.४६ किलोमिटर रहेको उक्त सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले सडकको विस्तार गरिरहेका छन् ।

सडक निर्माणमा विलम्ब भएको भन्दै थप एक कम्पनीसहित सडक निर्माणको काम शुरु गरेको भए पनि सडक विस्तारको कामले गति लिन सकेको छैन ।
कारोबारबाट