प्रचण्डको बढुवा !

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थप शक्तिशाली बनाएका छन् । फेरि उपचारको लागि सिंगापुर उड्नुअघि ओलीले अध्यक्ष प्रचण्डलाई पार्टीभित्र शक्तिशाली बनाएका हुन् । अब ओलीको अनुपस्थितिमा प्रचण्डले पार्टीको सचिवालय बैठक बोलाउन पाउनेछन् ।

प्रधानमन्त्री ओलीको सिंगापुर बसाई कम्तिमा ९/१० दिन हुनेछ । उनी भदाै १५ मा नेपाल फर्किने कार्यक्रम छ । ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष प्रचण्डले बैठक बोलाउने र सांगठनिक एकीकरण लगायतका विषयमा निर्णय गर्ने सहमति सचिवालय बैठकमा भएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डले छिट्टै बैठक बोलाउने जानकारी दिए ।

नेकपामा ओली र प्रचण्ड दुवै अध्यक्ष छन् । तर यस अघि बैठक बोलाउने अधिकार प्रचण्डलाई थिएन । हरेक बैठकको अध्यक्षता ओलीले नै गर्दै आएका थिए । अब भने त्यो अधिकार प्रचण्डलाई पनि दिइएको हो ।