संसदीय बैठकमा चर्काचर्की, मन्त्री नै रिसाएर जुरुक्क उठेपछि…

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सम्बन्धीत मन्त्रीको उपस्थितिमा मात्रै मन्त्रालय र त्यससंग सम्बन्धीत विषयको निर्णय गर्न संसदीय समितिलाई दबाब दिएका छन्  ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको विहिबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री यादवले आफ्नो अनुपस्थितिमा आफ्नो मन्त्रालय मातहका विषयमा निर्णय नगर्न सभापतिलाई चेतावनी नै दिएका थिए ।

सभापति विमल श्रीवास्तवले सम्बन्धीत विषयमा सरोकार राख्ने पक्षसंग छलफल, राय, सुझाव लिए पनि निर्णय गर्दा मन्त्री नै राख्नुपर्ने प्रावधान नरहेको बताएपछि मन्त्री यादव आक्रोशित बने  । मन्त्रीको आवश्यकता नपर्ने भए म किन बस्ने ? भन्दै उनी  बसेको कुर्सीबाट उठेका थिए  । बैठक छोडेर मन्त्री बाहिरीन खोजेपछि केहीबेर स्थिति असहज बन्यो ।

समिति सदस्यहरुको आग्रहमा ढोकाबाट फर्किएका मन्त्री यादवले मिडिया प्रति पनि आक्रोस पोखे  । उनले कस्तो समाचार लेख्ने कस्तो नलेख्ने सिकाउनुको साथै मिडियालाई कुन समाचार दिने, कुन नदिने भन्ने बारेमा निर्देशन दिन सभापतिको ध्यानाकर्षण नै गराए ।

औद्योगिक व्यवसाय सम्बन्धी विधेयकमा छलफलका लागि बसेको बैठकको सुरु देखि नै तनाबपुर्ण बनेपछि समिति सदस्यहरुले समितिको संबैधानिक अधिकार, संसदीय पद्धती, क्षेत्राधिकार लगायत बारे आवयक ज्ञान राख्न मन्त्रीलाई सुझाएका थिए ।

समितिको क्षेत्राधिकारका विषयमा चर्काचर्की भएपनि बैठक निर्धारित विषय वस्तुमा प्रवेश नै नगरि शुक्रबार बस्ने गरि स्थगित भएको छ ।