छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । 

सुनसरीको इटहरी उपमहानगरपालिका–१७ कान्छीचोक चतरा सडकमा को.२ च ८४४ नम्बरको पिकअपको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका–३ बस्ने ६३ वर्षीय चन्द्र राज दाहाल छन् । उनको बुधबार राति मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि धरान घोपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पाँचथरको फिदिम नगरपालिका–४ साल्बारीस्थित सडकमा माझीटारबाट फिदिमतर्फ जाँदै गरेको को.४ प ८९९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कुम्मायक गाउँपालिका–२ कात्तिके बस्ने  २४ वर्षीय भिम बहादुर माझी छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।    

जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलीस्थित सडकमा गोठिज्यूलाबाट स्याउ लोड गरी सुर्खेततर्फ जाँदै गरेको बा.प्र ०३००१ ख २१६४ नम्बरको ट्रक दुर्घटना हुँदा बुधबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मकवानपुर बस्ने ३६ वर्षीय अविनाश लामा छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका ट्रकका सह–चालकलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।    
 

Logo