आज महासप्तमी, दशैँघर तथा शक्तिपीठमा फूलपाती भित्र्याइँदै

आज महासप्तमी, दशैँघर तथा शक्तिपीठमा फूलपाती भित्र्याइँदै


आश्विन शुक्ल पक्षको सप्तमी तिथि अर्थात् महासप्तमी । बोलीचालीको भाषामा यो दिनलाई फूलपाती भनिन्छ ।

महासप्तमीको बिहान वा दिउँसो दशैँघर वा शक्तिपीठमा फूलपाती भित्र्याइन्छ। यसलाई संस्कृत भाषामा नवपत्रिका भनिन्छ । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ । तर सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग गरेको पाइन्छ ।

यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई प्रत्येक पत्रमा देवीहरूको पूजा गरिन्छ । यो अवसरमा काठमाडौंको हनुमानढोका दरबार, गोरखा दरबारलगायत स्थानमा समेत विशेष कार्यक्रमका साथ फूलपाती भित्र्याउने गरिन्छ ।

गोरखा दरबारबाट ल्याएको फूलपाती हनुमानढोकामा भित्र्याउने परम्परा अहिले पनि कायम छ । फूलपातीकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले हर्षबढाइँ गर्छ । यसको अवलोकनका लागि राष्ट्रप्रमुख, सरकारप्रमुख तथा अन्य संवैधानिक अंगका प्रमुखको उपस्थिति रहन्छ ।

Logo