सर्वसत्तावादी कम्युनिस्टलाई सिध्याउनु पर्छ- देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार पूर्ण प्रजातन्त्रभन्दा फरक दिशामा गइरहेको भन्दै सर्वसत्तावादी कम्युनिस्टलाई सिध्याउनुपर्ने बताएका छन् ।

शुक्रवार वीरेन्द्रनगरमा महाधिवेशन प्रतिनिधिको लागि प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रको रक्षा गर्न कम्युनिस्टलाई सिध्याउनुको विकल्प नभएको बताएका हुन् ।

सभापति देउवाले कम्युनिस्ट सरकारले देशमा लोकतन्त्रलाई समाप्त पार्दै साम्यवादी व्यवस्था ल्याउने षड्यन्त्र गरेको आरोप लगाउंदै भने, ‘विगतमा हामीले राणा फाल्यौं, पञ्चायत ढाल्यौं, राजा फाल्यौं,’ अहिले लोकतन्त्र खतरामा परेको छ । हामी सबै मिलेर कम्युनिस्टलाई सिध्याउनुपर्ने बेला आएको छ । अन्तिम धक्का दिन जरुरी छ ।’

सरकारले लेख्ने अधिकार खोसिरहेको, प्रेस स्वतन्त्रता सम्बन्धी कडा विधेयक ल्याइरहेको बताउँदै आन्दोलन गर्न तयार रहन कार्यकर्तालाई निर्देशन दिए । नेपालमा ओली सरकार आइसकेपछि भ्रष्टाचार बढेको, उपभोक्ता समितिका नाममा बजेट स्वाहा गर्ने क्रम बढेको र कर बढाइएको उनले आरोप लगाए ।

उनले पार्टीभित्र एकता नभएका कारण चुनाव हारेको बताए । ‘हिजो नेकपा माओवादी र एमाले दुइ पार्टी थिए, एक भए,’ उनले भने, ‘तर हामी एकै पार्टी छौं तर २ पार्टी जस्ता भयौं र हामीले चुनाव हारेका हौं ।