इन्डोनेसियामा फुटबल मैदानमा झडपः ज्यान गुमाउने १७४ पुगे

इन्डोनेसियामा फुटबल मैदानमा झडपः ज्यान गुमाउने १७४ पुगे


इन्डोनेसियामा शनिबार एक फुटबल खेलमा भागदौड मच्चिँदा ज्यान गुमाउनेको संख्या १७४ जनाको पुगेको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन् । 

यस झडपलाई विश्वको अहिलेसम्मकै सबैभन्दा ठूलो स्टेडियम दुर्घटनाको रूपमा वर्णन गरिएको छ। खेल हारेको टोलीका फ्यानहरु आक्रोशित भएर मैदानमा झरेपछि हिंसा भड्किएको हो । 

शनिबार राति पूर्वी जाभा प्रान्तको अरेमा एफसी र पर्सेबाया सुराबायाबिच खेल चलिरहेको थियो । अरेमा एफसी २–३ ले पराजित भएको देखेर उनका फ्यान मैदानमा प्रवेश गर्न थाले । भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको थियो । यस अराजकतामा स्टेडियममा भागदौड मच्चिएको थियो ।

समाचार एजेन्सी एएफपीका अनुसार भागदौड मच्चिँदा ३४ जनाको रंगशालामा र बाँकीको अस्पतालमा मृत्यु भएको थियो । मृत्यु हुनेमा दुई प्रहरी पनि छन् ।

४० हजार दर्शक क्षमता भएको रंगशालामा क्षमताभन्दा बढी मानिस रहेको जनाइएको छ । इन्डोनेसिया फुटबल संघले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । लिग एक साताका लागि स्थगित गरिएको छ । साथै यस घटनापछि अरेमा एफसीलाई यो सिजन प्रतिबन्ध लगाइएको छ । -बीबीसी

Logo