टिकट नै नपाएको सर्वसाधारणको गुनासो, व्यवसायी भन्छन्ः सकेसम्म मिलाएका छौँ

टिकट नै नपाएको सर्वसाधारणको गुनासो, व्यवसायी भन्छन्ः सकेसम्म मिलाएका छौँ


नेपालीहरुको महान चाड बडा दशैँ मनाउन घर जानेहरुको आज पनि उल्लेख्य भीड छ । काठमाडौंको नयाँ बसपार्कमा दशैँ मनाउन घर जानेहरुको भीड लागेको हो ।

टिकट काट्न आउने र अग्रिम टिकट काटेका सर्वसाधारणहरु बिहानैदेखि नयाँ बसपार्कमा रहेका छन् । नयाँ बसपार्क क्षेत्रमा रहेका सर्वसाधारणहरु यातायात व्यवसायीहरुले व्यवस्थापकीय काम राम्रोसँग गर्न नसकेको गुनासो गरे । बीच बाटोबाट सर्वसाधारणहरु लिएर जाने कतिपय सवारीसाधनका चालक र सहचालकहरुका कारण टिकट काटेका कतिपयले टिकट नपाइरहेको उनीहरुको गुनासो छ ।

त्यस्तै यातायात व्यवसायीहरुले बसको टिकट छ भनेर काट्ने गरेको तर गाडी चल्ने बेलामा सिट नै खालि नरहेको उनीहरुको भनाइ छ । बस व्यवसायीहरुले दोब्बर मूल्य भाडा लिएर रिजर्भमा पनि यात्रुहरुलाई ओसार्ने गरेको तर टिकट भने नदिएकोमा यात्रुहरुको चर्को गुनासो छ । उनीहरुले सरकारले दशैंमा घर जानेहरुलाई बसको टिकटको लागि आवश्यक व्यवस्था नमिलाएको आक्रोश समेत व्यक्त गरेका छन् ।

त्यस्तै यातायात व्यवसायीहरुले भने अन द स्पोट आएर जसरी पनि घर जानैपर्ने भन्ने सर्वसाधारणका कारण यी समस्या आइरहेको बताए । पूर्वाञ्चल संयुक्त यातायातका कर्मचारी खगेन्द्र बस्नेतले आज टिकट काट्न आउने र जसरी पनि जानैपर्छ भन्ने सर्वसाधारणहरुले यस्तो समस्या निकालिरहेको बताए । उनले टिकट काट्दा उभिएर पनि जान्छु भन्ने तर टिकट काटिसकेपछि टिकटमा अर्को मानिस राखेको छ भन्ने जस्ता कुरा गरेर भ्रम पैदा गरिरहेको बताए । 

नवरात्र शुरु भएसँगै रोजगारी र अध्ययनको सिलसिलामा काठमाडौं आएकाहरु गाउँ फर्किरहेका छन् । यातायात व्यवस्था विभागले अग्रिम टिकट खुलाएर यातायातको सहज व्यवस्थापन गर्ने भनेपनि यात्रुहरु भने अग्रिम काटेको टिकट पनि नपाएको गुनासो गरिरहेका छन् । नयाँ बसपार्क, गौशाला, कोटेश्वर लगायतका स्थानमा टिकट काटेर घर फर्किने यात्रुको लर्को देख्न सकिन्छ ।  

Logo