प्रमुख सचेतकको घरमा बम विष्फोट गराउने ३ जना पक्राउ

बुटवल,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश ५ का संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा विष्फोट गराउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता बिक्रम यादव, रुदल यादव र विष्णुप्रसाद तिवारी मुकेश रहेका छन् ।

पक्राउ परेका विक्रम यादव विप्लव नेकपाको जिल्ला जनसरकार उपप्रमुख, रुदल यादव प्रादेशिक जनसरकार सदस्य र मुकेश विप्लव नेकपाको जिल्ला कमिटी सदस्य रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

गत साउन ३१ गते राति रुपन्देही सैनामैना नगरपालिका ८ शान्तिटोल स्थित ढकालको निवासमा विष्फोटन र आगजनी भएको थियो । जिल्ला प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि रुपन्देही गैडहवा गाउँपालिका २ सानो धुपहीस्थित एनसेल टावरमा साउन १५ गते आगजनी र बम विष्फोटमा समेत संलग्न रहेको अभियोगमा मुद्धा दर्ता भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल समाचारपत्रबाट