दशैंमा तनहुँ जलविद्युत् आयोजनाको काम निरन्तर

दशैंमा तनहुँ जलविद्युत् आयोजनाको काम निरन्तर


तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको कामलाई दशैंमा पनि निरन्तरता दिइएको छ । दशैं शुरू भइसके पनि आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको हो । 

दशैंको टीकाको दिनबाहेक अन्य सबै दिन काम नरोकिने आयोजना प्रमुख राजभाइ सिल्पकारले जानकारी दिए । ‘आयोजनाको कामलाई निर्धारित मितिमै सम्पन्न गराउनका लागि कामको गति बढाएका छौं,’ उनले भने, ‘दशैंमा पनि काम रोकिँदैन ।’

दशैंको मुख्य दिन टीकाको दिनमा नेपाली कामदारलाई बिदा दिइए पनि चिनियाँ मजदुर र अन्य केही नेपाली कामदारको सहभागितामा काम चलिरहने उनले बताए । ‘न्यूनतम कामदारबाट टीकाको दिनमा पनि काम हुन्छ,’ सिल्पकारले भने, ‘आयोजनालाई समयमै सम्पन्न गराउनेतर्फ गम्भीर भएर लागिपरेका छौं ।’

यतिबेला आयोजनाको प्याकेज एकअन्तर्गत डाइभर्सन टनेल (पानी फर्काउने सुरुङ) को काम चलिरहेको छ । प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ । प्याकेज दुईअन्तर्गतको विद्युत्गृह खन्ने काम सकिएको छ ।

आयोजना प्रमुख सिल्पकारका अनुसार पानी फाल्ने काम पनि सम्पन्न भएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ । 

सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाई भएको भूमिगृत विद्यृत् गृहको सुरुङ खन्ने काम सकेको आयोजनाले जनाएको छ । विद्युत् गृहको सुरुङ खन्ने काम सन् २०२० अगस्टबाट शुरू भएको थियो । अब सुरुङभित्र पूर्वाधार निर्माणको काम शुरू गरिएको छ ।

Logo