‘धनगढी सेटकी चेली सटपाइन्ट कसेकी, घरबार भएकी हौ कि माइतमै बसेकी’
धनगढीको वनदेवी मन्दिर परिसरमा शनिबार गौरा पर्वको खेल खेल्दै सर्वसाधारण । तस्वीरः सिद्धराज भट्ट/रासस

सिद्धराज भट्ट    

धनगढी  ।
‘धनगढी सेटकी चेली सटपाइन्ट कसेकी… ।
घरबार भएकी हौ कि माइतमै बसेकी… ।।’

अर्थात (धनी घरकी छोरी सट पाइन्टको पहिरनमा देखियौँ, विवाह भएकी हौँ कि माइतमै बसिरहेकी?

गौरापर्व मनाउन धनगढीको वनदेवी मन्दिर परिसरमा जम्मा भएका महिला पुरुषको समूहले प्रस्तुत गरेको डेउडा गीतको बोलमा सवाल जवाफ गरी खेल शुरु गर्दा माहोल रोमाञ्चक बन्यो ।

गोलबन्द भएर खेलिएको उक्त डेउडा खेलमा पुरुषको समूहले आफ्नो परम्परागत पहिरन नलगाएकी महिलालाई लक्षित गरी सर्ट र पाइन्टको पहिरनमा देखिएको तर्फ ब्यङ्ग गरेको थियो । उक्त ब्यङ्गको महिलाको समूहले डेउडाकै भाकामा यसरी जवाफ फर्काइरहेको थियो–

‘घरकी घरिना हैन, उड्ने चरी हुँ…।
कहीँ पोइल दिएको छैन, उड्ने भमरी हुँ…।।’

अर्थात (बिहेवारी भएको छैन, एक ठाउँमा स्थिर भएको छैन, चरीजस्तै घुमिरहेको छु) देउडा गीतको बोलमा महिला तथा पुरुषको समूहले परिचयात्मक ढङ्गले देउडा खेल शुरु गर्ने गर्दछन् ।

देउडा खेलका शौकीनहरु एकआपसमा घोचपेच र तिखो ब्यङ्ग गर्दै रमाइरहँदा दर्शकले पनि भरपुर आनन्द लिने अवसर पाएका थिए ।

यो खेलका सहभागीमध्ये आधा सङख्याले पुरुषको समूह र आधा सङ्ख्याले महिलाको समूहलाई देउडा गीतको बोलमा मच्ची मच्ची साथ दिइरहेका थिए ।

खेलका सहभागीबीच दोहोरीको शैलीमा रोमाञ्चक प्रतिष्पर्धा चलिरहँदा दर्शकको भीड पनि थामिनसक्नुभएको थियो । सामाजिक विकृति विसङ्गति र कुशासनविरुद्ध डेउडाका माध्यमले तिखो ब्यङ्ग गर्दै समाजलाई सही बाटोमा डोर्‍याउन यस्ता गीतले मद्दत पुर्‍याउने जानकारहरु बताउँछन् ।

‘सानी डाली घँघारुकी मसुरदानी…।
ठुम्के चरो बास…।। ’

(घँघारुको बोटमा सानो चराको बास)
‘म आए बाबाका घर मसुरदानी, नथियाकी आस…।
(नाकमा पहेरिने नथुको आसमा बुवाको घर आए)’

महिलाको छुट्टै समूहमा खेलिने ठाडी भाखाको यो गीतले छोरीले माइतीप्रति गर्ने गरेको माया, आशा एवं अपेक्षालाई दर्शाउने गरेको जानकार तारादेवी जोशी बताउछन् ।

यो ठाडो भाखाको गीत महिलामाझ सदियौँदेखि निकै लोकप्रिय छ । वर्षभरिमा एक पटक आफ्नो मौलिक सांस्कृतिक पर्व गौरा मनाउनेको सक्रियताले यतिबेला सुदूरपश्चिम प्रदेशका गाउँ बस्तीहरु डेउडा, चैत, धमारीजस्ता गीतको रौनकले छपक्क छोपिएका छन् । घरायसी काम छाडेर भए पनि खेलका शौकीनलाई गौरा खेल खेल्न भ्याइनभ्याइ भएको छ ।

यो पर्वमा विशेष गरी देवीदेवताका गाथा, महिमा, दर्शाउने गीत गाउने गरिएको गौरा गीतका गितारु (गीतकार) धर्मराज जोशी बताउछन् । देवीदेवताका गाथा एवं महिमा गाउनेहरु पछिल्ला वर्षमा कम हुँदै गएको अवस्थामा यसको विकल्पमा डेउडाको वचश्र्व देखिन थालेको उनी बताउँछन् ।

यो पर्वका बेला खेलिने डेउडा, चैत, धमारी, फागलगायतका खेलले इष्टदेव कूल देवको महिमा दर्शाउने मात्र नभई समाजका लागि वीर पुरुषले पुर्‍याएको योगदान, प्राकृतिक र धार्मिकस्थलको महत्वलाई पनि उजागर गर्ने गरेको बताइन्छ ।

पछिल्लो केही दशकदेखि केवल डेउडा खेलको मात्रै प्रयोग हुन थालेपछि यसको वास्तविक मौलिकता झल्काउने खेल लोप हुन थालेको भन्दै जानकार चिन्तित हुन थालेका छन् ।

“यो पर्वमा केवल लोक दोहोरी शैलीका डेउडा केन्द्रित खेलले मात्र स्थान पाउँदा गौराको विशेष मौलिक पहिचान बोकेका चैत, धमारी, फाग हराउन सक्छन्”, साहित्यकार पदमराज जोशीले भने । गौरा घर र मन्दिरमा भदौ सप्तमी तिथिका दिन धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको थियो । व्रतालु महिलाको समूहले धान, साउँ, कुस, तिललगायतका बोट बिरुवा प्रयोग गरी तयार पारेको गौरा भगवतीको प्रतिमालाई धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याउने गर्दछन् । गौरा भित्र्याइसकेपछि व्रतालु महिलाले गौरी भगवती र महेश्वर (शिव) भगवानको पूजा अर्चना गर्ने गर्दछन् ।

पूजाको कार्यक्रमसँगै मन्दिर र गौरा घरमा गौरासम्बन्धी खेल खेल्ने गरिन्छ । पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतिले भगवान् शिवलाई पतिका रुपमा पाउन गरिएको ब्रतको फलस्वरुप पार्वतीको मनोकांंक्षा पूरा भएकाले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किंवदन्ती छ । यो पर्वले एक ठाउँमा भेला हुने अवसर प्रदान गरी आपसी सद्भाव सुदृढ गराउन मद्दत पुग्ने, इष्टकुल देवता खुशी हुने विश्वास गरिन्छ । रासस