चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै सीएमसीमा तोडफोड

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै सीएमसीमा तोडफोड


चितवन मेडिकल कलेज (सीएमसी) को भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको छ ।

मृतकका आफन्त तथा स्थानीयले मंगलबार दिउँसो अस्पतालमा तोडफोड गरेका हुन् । भरतपुर महानगरपालिका–१३ का ३६ वर्षीय रमेश कुँवरको सोमबार साँझ सो अस्पतालमा निधन भएको थियो । कुँवरको प्याङ्क्रियाजमा समस्या भएर उपचारका लागि सोमबार बिहान ८ बजे अस्पतालमा भर्ना भएको प्रशासन प्रमुख प्रताप देवकोटाले बताए ।

उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि विभिन्न अंगप्रत्यङ्गहरूले काम नगरेका कारण हिजै साँझ निधन भएको देवकोटाको भनाई छ । बिरामीको मृत्युको कारणबारे आफन्तलाई हिजो नै सबै जानकारी दिएपनि आज धेरै मान्छेहरू अचानक आएर प्रदर्शनसहित तोडफोड गरेको उनले बताए । आज दिउँसो साढे १ बजेतिर स्थानीय र आफन्त अस्पताल आएका थिए ।

चिकित्सकले लापरबाही गरेका कारणले बिरामीको निधन भएको भन्दै उनीहरूले आक्रोश अस्पताल तोडफोड गरेका हुन् ।  अस्पतालको तेस्रो तलामा रहेको मेडिकल आईसीयूमा तोडफोड भएको छ । घटनापछि प्रहरीले १३ जनालई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

Logo