पुडाशैनी मृत्यु प्रकरणः अनुसन्धान फाइल सरकारी वकिलसामु पेश

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धानसहितको राय प्रतिवेदन मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

प्रहरीले आत्महत्या र आत्महत्याका लागि दुरुत्साहन गरेको भन्ने विषयमा विभिन्न पक्षबाट प्रमाणसहित मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको हो । प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले अभियोग पत्र अदालतमा पेश गर्नेछ ।

आज पत्रकार सम्मेलन गर्दै सीआइबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आत्महत्या दुरुत्साहन अभियोग अन्तरगत रहेर नै अनुसन्धान पुरा गरिएको जानकारी दिए । सोही अनुरुप अदालतमा मिसिल पेश गरिएको हो । आजैदेखि थुनछेक बहस सुरु हुने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

जाहेरीवालाको तर्फबाट पाँचजना अधिवक्ताले बहसमा उत्रिनेछन् । प्रतिवादीका तर्फबाट अधिवक्ता सुशील पन्त, सुनिल पोखरेल र चुडामणि सापकोटाले बहस गर्नेछन् । पत्रकार पुडासैनीको नारायणगढको एक होटलमा साउन २० गते झुण्डिएको अवस्थामा शव फेला परेको थियो । उनको मोबाइलमा भेट्टिएको भिडियोमा रवि लामिछाने, पत्रकार युवराज कंडेल र नर्स रुकु भन्ने अस्मिता कार्कीका कारण आफूले आत्महत्या गरेको बताएका थिए । त्यहीँ भिडियोको आधारमा प्रहरीले तीनैजनालाई पक्राउ गरेको थियो ।