चितवन तनावग्रस्तः रवि समर्थकले बोत्तल प्रहार गरे, प्रहरीले अश्रुग्यास हान्यो

चितवन । चितवनमा प्रहरी र चर्चित सञ्चारकर्मी रवि लामिछानेका समर्थकबीच झडप भएको छ । लामिछानेका समर्थकले प्रहरीमाथि बोतल प्रहार गरेपछि सुरक्षाकर्मीले अश्रुग्यास हानेको छ । जिल्ला अदालतमा जारी थुनछेक बहसपछि प्रहरी हिरासत लैजाने क्रममा रविका समर्थकहरूले प्रहरीमाथि बोतल प्रहार गरेका थिए । त्यसपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर भिडलाई हटाएको चितवन प्रहरीले जनाएको छ ।

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रविसहित तीन जनाविरुद्ध आइतबार आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । उक्त मुद्दामा अदालतमा थुनछेक बयानको लागि उपस्थित गराइएको थियो । तर, बयान नसकिएपछि थुनछेक बहस हुन सकेन ।

अदालतबाहिर हजारौंको संख्यामा जम्मा भएका रविका समर्थकहरूले नाराबाजी गरेका थिए । उनीहरूले रविलाई फसाउन खोजेको भन्दै पक्राउ परेको दोस्रो दिनदेखि चितवनमा विरोध प्रदर्शन गर्दै आएका छन् ।

गत साउन २० गते चितवनमा आत्महत्या गरेका पुडाशैनीले एक भिडियो बनाएका थिए । जसमा तीन जनाका कारण आत्महत्या गर्न बाध्य भएको दावी गरेका थिए । सोही भिडियोका आधारमा तीनै जनालाई पक्राउ गर्दै प्रहरीले दश दिनमा अनुसन्धान प्रतिवेदन सरकारी वकीलको कार्यालयमा बुझाएका थियो । आज बयान नभएपछि रविले एक सन्देश जारी गरेका छन् ।

कार्यक्रम उत्पादक दिपक बोहरा मार्फत रविले सन्देश दिएका हुन् । उनले भनेका छन्, ‘हाम्रो समेत सहयोगले अनुसन्धान सम्पन्न भई नेपाल सरकारको तर्फबाट आज चितवन जिल्ला अदालतमा म, युबराज र अस्मिता समेतबिरुद्ध अभियोग पत्र दर्ता भएको छ । म समेतको वयान कार्य हुन नभ्याईएकोले भोली बाँकी कार्य सम्पन्न भई न्यायलयबाट न्याय पाउनेमा हामी विस्वस्त छौं । देश तथा विदेशमा रहनुहुने न्यायको लागि अहोरात्र चिन्तित हुनुहुने सबै प्रति म हृदयदेखि धन्यबाद नदी बस्न सकिन । न्यायालय प्रतिको तपाई हाम्रो बिस्वास कदापि टूटने छैन ।’