बारा दुर्घटनामा परेका बालक भन्छन्- बुबाको हात देखेर चिनेँ र मान्छेको थुप्रोबाट निकालेँ

बारा दुर्घटनामा परेका बालक भन्छन्- बुबाको हात देखेर चिनेँ र मान्छेको थुप्रोबाट निकालेँ


जितपुर-सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने चालकसहित ३३ जना घाइते छन् । बसमा सवार केही यात्रुमात्र सामान्य रहेका र धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यही बसमा सवार १५ वर्षीय बालक हुन् बिरोज पाख्रिन ।

बारा घर भएर मकवानपुरगढी बस्ने बिरोज मूलघरको टीका सकेर बिहानै बाराको अमलेखगञ्जमा रहेको घरमा पुग्न बिहान ५ बजे नै हेटौंडा बसपार्क पुगेका थिए । आफ्ना ४५ वर्षीय बुबा ललित पाख्रिनका साथ उनी बस कुर्दै थिए । दसैँका कारण थोरै सवारी र त्यसमा पनि खचाखच भरिएर आएका सवारी साधनहरूका कारण ३/४ घण्टा बसपार्कमा नै कुर्नुपर्‍यो।

धेरैपछि नारायणगढबाट बीरगञ्जका लागि छुटेको बा ०६–००१ ख ०११० नं को बस बसपार्कमा आइपुग्यो र पाख्रिनका बुबा छोरा चढे । बस बीचबीचमा यात्रुहरू चढाउँदै चुरियामाई मन्दिरनजिक पुगेर रोकियो । त्यहाँ पनि चार जना यात्रु बस चढे । त्यसको केहीबेरमा नै अगाडिबाट ब्रेक फेल भयो भन्ने आवाज आएको उनले सुने । बस चढेका चार यात्रु बस्न नपाउँदै अगाडिबाट बसको ब्रेक फेल भयो भन्ने आवाज सुनिएको उनले बताए । 

टाउको र घुँडामा चोट लागेका बिरोज भन्छन्- 'ब्रेक फेल भयो भन्ने सुनेँ, गाडी यताउता गर्दै गुड्यो, त्यसपछि म त बगरमा पुगेको रहेछु ।' गाडी पल्टेको थाहा नै नभएको बताउँदै उनी भन्छन्- 'झसङ्ग भएर बुबालाई हेरेको  देखिनँ । उहाँलाई मानिसहरूको चेपमा देखेँ । चार जना मान्छे हटाएर बुबालाई तानेर निकालेँ । बुबालाई थिचेका वरपरका अरु यात्रु भने चलमल गर्नुभएको थिएन । उहाँहरूको बीचबाट बुबाको हात बाहिर निस्केको देखेर चिनेँ ।'

बाहिर निकालेपछि प्रहरी आयो । प्रहरीको बसमा बुबासहित अरुलाई पनि हेटौंडाको अस्पतालमा ल्याएको बिरोज बताउँछन् । तर दुर्घटनाको कतिबेरपछि प्रहरी घटनास्थलमा पुग्यो भन्ने पत्तो नपाएको उनको भनाइ छ । गम्भिर घाइते भएका कारण बिरोजका बुबा ललित पाख्रिनलाई भरतपुर लैजान एम्बुलेन्सको ब्यबस्थापन गरिएको अस्पतालले जनाएको छ । उनका आफन्तहरू पनि सम्पर्कमा आएको उनले बताए ।

त्यसैगरी अर्का घाइते ३५ बर्षीय बस चालक दिप्तनारायण ढकाल बसको ब्रेक फेल भएको थाहा पाएपछि बचाउने प्रयास गर्दागर्दै नसकेको बताउँछन् । उनले आफूले भने हामफालेर ज्यान जोगाएको बताउँछन् । नारायणगढबाट हेटौंडा हुँदै बीरगञ्जतर्फ गइरहेको बसमा यात्रु चढ्ने र झर्ने क्रम जारी रहेसँगै चुरियामाई मन्दिरमा पुग्दा मुसलधारे पानी परेको र त्यसलगत्तै बसको ब्रेक फेल भएको उनी बताउँछन्। ब्रेक फेल भएको गाडीलाई भित्तामा ठोक्काएर रोक्ने प्रयास गर्दागर्दै टाटासुमो, अटोरिक्सा र मोटरसाइकललाई छल्दै अघि बढ्दा भित्ता नभेटिएर दुर्घटना भएको उनको भनाइ छ । उक्त क्रममा पुल नजिकै पुग्दा बसलाई नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि आफु हामफाल्न बाध्य भएको उनले बताए । 

बाराका १८ वर्षीय युवक आर्यन भोम्जनले पनि एक्कासि बस तीब्र गतिमा गुडेको थाहा पाएपछि डर लागेको र अगाडिबाट झाडीतिर हाल, भित्तातिर हाल भनेको आवाज सुनेको बताउँछन् । पछाडिको सीटमा रहेका उनी होसमा छँदा चिच्याएको आवाज सुनेको र पछि भने आफैले होस नपाएको बताए । उनको हेटौंडास्थित चुरहिल अस्पतालमा उपचार भइरहेको छ । उनको हातको शल्यक्रियाको तयारी हुँदैछ । 

बसको ब्रेक फेल भएको प्रारम्भिक अनुसन्धान 
आज बिहान करिब १० बजे जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताए ।

चालकसँग गरिएको अनुसन्धानका आधारमा बसलाई चालकले जोगाउन खोज्दाखोज्दै दुर्घटना भएको देखिएको उनको भनाइ छ । बस चुरेमन्दिरबाट केही तल पुगेपछि ब्रेक फेल भएको र विभिन्न सवारीसाधन सडकमा गुडिरहेकोले उक्त सवारीसाधनहरूलाई जोगाउँदै गुड्दै गर्दा दुर्घटनामा परेको बुझिएको थापाले बताए । 

अहिलेसम्म हेटौंडा अस्पतालमा १२, चुरेहिल अस्पतालमा दुई, मकवानपुर सहकारी अस्पतालमा दुई र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए । हेटौंडामा एम्बुलेन्सको कमी भएका कारण केही घाइतेहरूलाई भने निजी सवारी साधनमा थप उपचारका लागि पठाइएको बताइएको छ ।

Logo