दाङको चहडामा गएको पहिरोले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, पृथ्वी राजमार्ग सञ्चालन

दाङको चहडामा गएको पहिरोले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, पृथ्वी राजमार्ग सञ्चालन


निरन्तरको वर्षाका कारण पहिरो जाँदा दाङको गढवा गाउँपालिका चहडामा पर्ने पूर्व–पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । 

बिहानैदेखि गएको पहिरोले सयौं सवारी साधन जाममा परेका छन् भने दसैंका लागि घर जाने र घरबाट फर्किने यात्रुहरू अलपत्र परेका छन् । अहिले उक्त स्थानमा पहिरो हटाउनका लागि कुनै पहल नभएको र सडक डिभिजनका एक कर्मचारी पहिरोको अनुगमन गरेर फर्किएका छन् । मुसलधारे पानी परिरहेकाले यात्रुहरू अलपत्र परेका छन् । छिनछिनमा गएको पहिरोले पूरै सडक पुरेपछि सबै सवारी साधनहरू रोकिएका हुन् ।

यता अविरल वर्षासँगै पहिरो जाँदा अवरुद्ध भएको पृथ्वीराजमार्ग भने सञ्चालनमा आएको छ । आज बिहान पृथ्वीराजमार्गको दुई ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएकामा पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराइएको प्रहरीले जनाएको छ ।

व्यास नगरपालिका–१२ घाँसीकुवामा गएको पहिरो पन्छाएर दुईतर्फी सडक सञ्चालनमा ल्याइएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिनुभयो । त्यस्तै म्याग्दे गाउँपालिका–१ गुणादीमा एकतर्फी सडक सञ्चालनमा आएको छ । 
 

Logo