बाढीको प्रभाव : वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

बाढीको प्रभाव : वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द


कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको छ ।

खानेपानीका सबै मुहानमा अत्यधिक बाढी आएका कारण आपूर्ति बन्द गरिएको हो । संस्थाका प्राविधक शाखा प्रमुख इन्जिनियर बालाराम तिवारीका अनुसार गए राति १२ बजेदेखि खानेपानी आपूर्ति बन्द गरिएको हो । यसअघि पनि झुप्रा खोलाबाट ल्याएको पाइपलाइनमाथि पहिरो खस्दा झन्डै रु १० लाखको क्षति हुँदा सुर्खेतमा केही दिन पानी वितरणमा समस्या आएको थियो ।

उक्त समस्या समाधान हुने बित्तिकै फेरि मुहानमा आएको बाढीले खानेपानी आपूर्तिमा व्यवधान खडा गरेको हो । इन्जिनियर तिवारीका अनुसार केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले उपत्यकामा खानेपानी वितरणका लागि प्रयोगमा ल्याएका खानेपानीका स्रोत झुप्रा खोला, खरिखोला बोरिखोला, इत्रामखोला र खोर्के खोला मुहानमा अत्यधिक बाढी आएका कारण खानेपानी सेवा अवरुद्ध भएको हो । पानीको बहाव कम हुने बित्तिकै खानेपानी पुनः वितरण गरिने उनले बताए । 

Logo