नाडा अटो शो विशेषः केन्द्रबिन्दुको राउण्ड टेवलमा कसले के भने ?

सवारीसाधनहरुको कूम्भमेला १४ औं नाडा अटो शो आगामी भदौ १० गते (भोलि) देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा संचालन हुँदैछ । एक सय ६० वटा स्टल रहने मेलामा २३ ब्राण्डका चारपांग्रे सवारीसाधन, १९ ब्राण्डका दुई पांग्रे, १२ ब्राण्डका लुब्रिकेन्ट, ९ ब्राण्डका टायर, ५ ब्राण्डका ब्याट्री, १४ पार्टपूर्जा एवं ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तीय संस्थाहरु रहने अटोमोबाइल्स एशोसिएसन अफ नेपालले जनाएको छ ।

यसै सेरोफेरोमा रहेर केन्द्रबिन्दु अनलाइन मिडियाले सम्बद्ध निकायका अधिकारीहरुसँग राउण्ड टेबल कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा सडक, यातायात, अटो व्यवसाय, राजस्व अनुसन्धान, ट्राफिक व्यवस्थापनलगायतका विषयमा विशेष बहस र छलफल भयो ।

कसले के भने ?

राउण्ड टेवल कार्यक्रममा सहभागि महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका प्रमुख तथा एसएसपी बसन्त पन्तले हरेक सवारी चालकले आफूभन्दा पछाडिका चालकलाई ख्याल गर्नुपर्ने बताएका छन् । ट्राफिक प्रहरीले टोल टोलमा पुगेर जनचेतना फैलाउँदा पनि प्रभावकारी हुन नसकेको भन्दै एसएसपी पन्तले अब काठमाडौं पस्ने हरेक नाकामा बसेर जनचेतना फैलाउनुपर्ने बताए ।

त्यस्तै आन्तरिक राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले सरकारले हालै कार्यान्वयनमा ल्याएको भिसिटिएस प्रणालीको २०७१ सालदेखि नै तयारी थालिएको जानकारी दिए । सरकारको शुन्य सहनशिलताको नीतिलाई आत्मसात गर्दै आएको बताउँदै उनले कानूनभित्र रहेर व्यवसाय गर्ने कोही पनि डराउनु नपर्ने बताए ।

कार्यक्रममा वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले कुनै पनि वस्तुको गुणस्तर र सुरक्षामा कोही पनि नठगियून भन्ने उद्धेश्यले काम गरिरहेको बताए । गौचनले अत्यावश्यक सवारीसाधारणको वर्गिकरण गर्नुपर्ने औल्याउदै व्यवसाय दर्ता र नविकरणका लागि विशेष सफ्टवेयर बनाइरहेको जानकारी दिए ।

अटोमोबाइल्स एशोसिएसन अफ नेपाल नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले केन्द्रबिन्दुले गत वर्ष आयोजना गरेको राउण्ड टेवल कार्यक्रम निकै लाभदायक भएको बताउँदै आफूहरु अटो व्यवसायीहरुको हकहितकालागि काम गरिरहेको बताए । दुलालले सवारीसाधनको संख्या बढीरहँदा सडकको विस्तार हुन नसकेको गुनासो पोखे ।

अटोमोबाइल्स एशोसिएसन अफ नेपालका सचिव अनुप बरालले नाडा अटो शो एउटा मेला मात्रै नभएर समग्र अर्थ व्यवस्थाकै गरिमा बोकेको प्रदर्शनी भएको बताए । बरालले यसपटकको मेला विगतमा भन्दा सभ्य र भव्य हुने दावी पनि गरेका छन् ।

त्यस्तै नाडाका महासचिव तथा स्पेयरपार्टस समितिका सभापति सुनिल रिजालले एकातिर कल छलेर सामान भित्र्याउन प्रवृति बढेको र अर्काेतिर स्वच्छ व्यवसायीलाई नै सरकारले दुःख दिने गरेको गुनासो पोखे । उनले पछिल्लो समय स्पेयर पार्टस् व्यवसायमा सुधार आएको भन्दै ऋण लिनका लागि करचुक्ता प्रमाणपत्र अनिवार्य गर्ने सरकारी कदमको प्रशंसा गरे ।

नाडाका कोषाध्यक्ष तथा लुब्रिकेन्ट समितिका सभापति सुरेन्द्रकुमार उप्रेतीले मानिसका लागि रगत र सवारीसाधनका लागि लुब्रिकेन्ट उस्तै हो भन्दै गुणस्तरीय लुब्रिकेन्ट मात्रै आयात गर्न दिनुपर्ने बताए ।

त्यस्तै टायर ट्युव समितिका सभापति बिक्रम सिंहानियाले विकासको आधार मानिने टायर आयतमा सरकारले कर बढाउनु गलत भएको टिप्पणी गरे । भेहिकल कमिटीका सभापति करण चौधरीले नेपालमा अन्य सवारीसाधानहरुको आयातको दर घट्दै गएको परिप्रेक्ष्यमा इलेक्ट्रिक भेहिकलहरुको आयात बढ्न थाल्नु राम्रो संकेत भएको बताएका छन् ।

सडक विभागका महाप्रवन्धक केशव कुमार शर्माले देशका सबै सडकहरु सडक विभागको मातहतमा नपर्ने तर हरेक सडकको गुनासो आफूहरुले सुन्नु परेको बताए । शर्माले आफूहरु रोड नेटवर्कको गुणस्तर अभिवृद्धिमा लागेको जानकारी दिँदै जग्गाधनीको माग अनुसार मुआब्जा दिनुपर्ने गलत प्रवृति मौलाएको बताए । सडकलाई पानी र मान्छेको बानीले विगारेको बताउँदै शर्माले इलेक्ट्रिक भेहिकलमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

यातायात व्यवस्था विभागका महानिर्देशक गगनबहादुर हमालले यातायात क्षेत्रको सुशासनले देशको सुशासनको प्रतिनिधित्व गर्ने बताए । हमालले यातायात नीति परिवर्तनको संघारमा रहेको बताउँदै सम्बन्धित सबै निकायले खुट्टा तान्ने प्रवृति त्यागेर हात तान्ने बानीको विकास गर्नुपर्ने धारणा व्यक्त गरे । त्यस्तै सडक बोर्डका कार्यकारी निर्देशक कृष्णसिंह वस्नेतले स्पेयरपार्टसको करको रकम सडक वोर्डमा आउने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

इलेक्ट्रिक भेइकल एसोसिएसन नेपालका अध्यक्ष उमेशराज श्रेष्ठले सरकारले अब इलेक्ट्रिक भेहिकलतर्फ ध्यान दिनुपर्ने बताए । श्रेष्ठले विद्युतीय सवारीका प्रयोगकर्ताहरुले अहिले पिक आवरमा सवारीसाधन चार्ज गर्ने गरेकाले उनीहरुलाई छुट्टै मिटरको व्यवस्था गर्न पनि सुझाव दिए ।